हिमाल दैनिक
सदन र समितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन कस्सियो कांग्रेस

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशीमा गठबन्धन उम्मेदवारको पराजय अनपेक्षित भएको भन्दै उक्त घटनालाई गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

माघ २२ गतेदेखि सुरु हुने संसदको अधिवेशनका क्रममा संसद र संसदीय समितिमा पार्टीको प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्दै राष्ट्र र जनताको हितमा सांसदहरुले काम गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले सदनका गतिविधिहरुलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई पनि अपिल गर्ने निर्णय गरेको छ भने संसद अधिवेशन चल्दासम्म राजधानी नछाड्न र संसदको पुरै बैठकसम्म बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिइएको लेखकले जानकारी दिए।
विगतको अधिवेशनहरुमा सरकारले पेश गरेका कतिपय विधेयकहरुमाथिको छलफल र निर्णयका क्रममा सत्तारुढ दलकै सांसदहरुको न्यून उपस्थितिका कारण गणपूरक संख्या पनि नपुगेर सदनको प्रभावकारितामाथि नै प्रश्न उठिरहेको अवस्थामा कांग्रेसले आगामी अधिवेशनमा यो समस्या समाधानको स्थायी समाधान खोज्ने पहल थालेको छ।

यसका लागि पार्टीले आफ्ना सदस्यदेखि मन्त्री समेतलाई संसद र समितिका बैठकहरुमा अनिवार्य उपस्थित रहन र मन्त्रीहरुले पनि जनप्रतिनिधिहरुका कुरा गम्भीरतापूर्वक लिन निर्देशन दिएको छ। संसद अधिवेशन चालु रहेको समयमा कुनै पनि सदस्यलाई अत्यावश्यक काम पर्दा बाहेक राजधानी छाडेर नजान मात्र होइन, यदी जानै परेको अवस्थामा पनि कारणसहित दलका प्रमुख सचेतक वा सचेतकको लिखित स्वीकृति लिएर मात्र जान निदेर्शन दिएको छ।

यसका अतिरिक्त कांग्रेसले पार्टीका तर्फबाट विभिन्न विषयगत समितिमा रहेका सदस्यसँगै पार्टी नेतृत्वसँग समन्वय गरी पार्टीको भूमिका प्रभावकारी बनाउन प्रतिनिधि सभाका १० वटै समितिमा संयोजक तोक्ने काम गरेको छ।

जसअनुसार, समिति संयोजकहरुले समितिमा पेश भएको विषयवस्तुका विषयमा समिति सदस्य तथा पार्टीका सचेतकहरुसँग समन्वय गरी पार्टीको आधिकारिक धारणा राख्ने क्रममा एकरुपता कायम गर्ने भएको छ।

संविधान कार्यान्वयन सम्बन्धी विधेयकहरुलार्ई छिटो अघि बढाउन सरकारलाई आग्रह गर्ने र संसदमा पेश भएका विधेयकहरुलाई पारित गर्न समेत सरकारलाई आग्रह गर्ने निर्णय गरिएको लेखकले बताए।

समिति र संसद बैठकमा मन्त्रीहरुको उपस्थीति अनिवार्य गर्ने र सांसदहरुको कुरा सुन्ने तथा सरकारलाई सदनकाप्रति उत्तरदायि बनाउन मन्त्रीहरुले गम्भीरतापूर्वक काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै बैठकले संसदीय दलको कार्यसमिति निर्वाचन गर्ने निर्णय गर्दै यसका लागि निर्वाचन समिति तोक्न कांग्रेस कार्यसमितिलाई आग्रह गरेको छ भने बजेट अभावका कारण आयोजना पुरा नहुने अवस्थालाई अन्त्य गर्न त्यस्ता आयोजनाहरुमा बजेट थप गर्न पनि सरकारलाई आग्रह गरिएको लेखकले बताए।

बैठकमा उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रकरणमा सरकारले चालेको कदम प्रतिशोध मात्रै भएको धारणा राखेका थिए।

 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update