हिमाल दैनिक
महासमिति बैठकको तयारीका लागि सभापति देउवाले तोके ८ उपसमितिका संयोजक

नेपाली कांग्रेसको आगामी महासमिति बैठकको तयारीका लागि पार्टी सभापति एवं महासमिति तयारी मूल समितिका संयोजक शेरबहादुर देउवाले विभिन्न उपसमिति संयोजक तोकेका छन्।

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने भनिएको महासमिति बैठकको व्यवस्थापनका लागि सभापति एवं बैठक तयारी मूल समितिका संयोजक देउवाले आइतबार विभिन्न ८ उपसमितिको संयोजक चयन गरी जिम्मेवारी दिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसरी जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरुमा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मालाई प्रचार प्रसार उसमितिको जिम्मेवारी दिइएको छ भने अर्का केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई आवास समन्वय उपसमितिको जिम्मेवारी दिइएको छ।

त्यसैगरी केन्द्रीय सदस्य उदयशम्शेर राणालाई भोजन व्यवस्थापन उपसमिति, धना खतिवडालाई यातायात व्यवस्थापन उपसमितिको, जीतजंग बस्नेतलाई स्वयंसेवक परिचालन उपसमितिको तथा उर्मिला नेपाल केसीलाई स्वास्थ्य समन्वय उपसमितिको संयोजक तोकिएको छ।

यसैगरी नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँलाई प्रदेश समन्वय उपसमिति र ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई स्थानीय व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ।

आज जिम्मेवारी विभिन्न उपसमितिको जिम्मेवारी पाउने व्यक्तिहरुमध्ये विश्वकर्मा र बानियाँ बाहेक सबै संयोजकहरु ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दछन्।

Press Reales, Mahasamiti1707030057.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update