हिमाल दैनिक
नेता बुढाथोकीको निधन पश्चात कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्इ एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनका कारण कांग्रेसले माघ १६ गतेदेखि सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियान प्रभावित भएको छ।

विगत केही समयदेखि प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका पार्टी नेता बुढाथोकीको सोमबार राती विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएलगत्तै मंगलबार बिहान कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनप्रति शोक व्यक्त गर्दै पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको हो।  

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, २००१ साल असोज २२ गते झापामा जन्मिएका बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको छ।

साथै बैठकले बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासाथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट समेत गरेको छ।

बुढाथोकीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज देखि माघ २५ गते (तीन दिन)सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय पनि गरेको छ।

पार्टीको उक्त निर्णयले कांग्रेसले माघ १६ देखि २६ गते समाप्त हुनेगरी जारी राखेको समुदायमा कांग्रेस अभियान पनि स्वतः स्थगित हुन पुगेको हो।

यसैगरी कांग्रेसले भोलि बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने तथा १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औं दिन उनको गृहजिल्ला झापामा शोक सभाको आयोजना गर्ने कार्यक्रम राखेको छ।

CWC Meeting, 2080.10.23 Death of Keshav Kumar Budathoki1707199866.jpg

 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update