हिमाल दैनिक
कांग्रेसलाई झड्का दिँदै माओवादीले भन्योः राष्ट्रिय सभा अध्यक्षमा हाम्रै उम्मेदवार हुन्छ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको पार्टीको स्थायी समितिकोे बैठकमा सहभागी हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो ६ वर्षे कार्यकाल पूरागरी फागुन २० गतेदेखि विदा भएलगत्तै रिक्त हुन लागेको पदमा माओवादीका तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको हो।

तिमिल्सिनाको बहिर्गमन पश्चात रिक्त हुने पदमा अध्यक्ष चयनका लागि संसद सचिवालयले फागुन २९ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिसकेको छ। जसमा हालसालै सत्ता गठबन्धनको तर्फबाट कोशी प्रदेशमा साझा उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी कांग्रेसले गरिरहेको छ।

यसका बाबजूद कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले चुनावअघि हुने गठबन्धनले पार्टी संगठनलाई कमजोर बनाएको आरोप लगाउँदै त्यसको विरुद्धमा माहोल निर्माणका लागि आफ्नो कार्यपत्र पेश गरेपछि उक्त विवादित विषयले सत्ता गठबन्धनभित्र पनि चिसो पसेको छ।
तथापी, राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वारी दिने निर्णय निर्णयले गठबन्धनमा कुनै असर नपर्ने दाबी माओवादी प्रवक्ता अग्नि सापकोटाले गरे।

त्यस्तै सापकोटाले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय आफ्नो पार्टीले यसअघि नै गरेको जानकारी दिए।

गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषय तात्कालिन बिषय भएको उनले दाबी गरे।

बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैंशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यस्तै बैठकले नेताहरुको कार्यबिभाजन पनि गरेको छ। जस अनुसार कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्री कुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन्।

त्यस्तै लुम्बिनी इन्चार्जमा चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी,  कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर तोकिएका छन् भने बिशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्जमा यशोधा अधिकारीलाई तोकिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

यसैबीच माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्। केहि नेताहरुलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै फरक मत राखेको शर्माले बताए।

माओवादी बैठकले मिटरव्याज पीडितको समस्या समाधान गर्न र दुध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update