हिमाल दैनिक
कांग्रेस पदाधिकारीसँग देउवाले भनेः दाहालले सहमति तोडे, अब विपक्षमा बसौँ

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अन्ततः सत्ताबाट बाहिरिएर प्रमुख प्रतिपक्षी दलको भूमिका निर्बाह गर्न बाध्य भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षअघि गरेको सत्ता गठबन्धन र शक्ति बाँडफाँटको सहमति लत्याउँदै पुनः नेकपा एमालेसहितका अन्य दलसँग सत्ता गठबन्धन गर्ने निश्कर्षमा पुगेपछि कांग्रेसले सरकार छाडेर प्रतिपक्षी दलको भूमिकामा जाने निर्णय गरेको हो।

विगत केहीसमयदेखि माओवादी र एमालेबीच पाक्दै गरेको सत्ताको खिचडी आइतबार आएर भर्सिने स्थितिमा पुगेपछि प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहयात्रालाई पूर्णविराम दिने स्पष्ट संकेत दिएका थिए।

त्यसपछि पनि सभापति शेरबहदुर देउवाले सम्हाल्न गरेको कोशिश सोमबार बिहानसम्म आइपुग्दा पूर्णरुपले विफल भएपछि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरुको अनौपचारिक बैठकमा अब माओवादी अध्यक्ष दाहालले गठबन्धनको सहमति तोडिसेकेको जानकारी दिँदै कांग्रेस अब प्रमुख प्रतिपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार, कांग्रेससँगको गठबन्धन भत्किनुमा माओवादीले कोशी प्रदेश सरकार गठनको प्रक्रियामा भएको धोकाधडी, राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा माओवादी उम्मेदवारलाई पराजित गराउने कार्यदेखि हालै सम्पन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले माओवादीप्रति गरेको लिखित आलोचनात्मक टिप्पणीसँगै महामन्त्री गगनकुमार थापाले गठबन्धनको विरुद्धमा पेश गरेको सांगठनिक प्रस्ताव मुख्य कारण रहेको जानकारी देउवाले दिएका थिए।

यसका अतिरिक्त दाहालले कांग्रेसका केही मन्त्रीहरुको कार्यशैली र विवादस्पद गतिविधिका कारण उनीहरुलाई हटाउन चाहेपनि असम्भव भएपछि कांग्रेसलाई छाडेर पुनः वामपन्थी गठबन्धन र सहयात्राको बाटो रोजेका थिए।

कांग्रेससँग सत्ता सहमति तोडेको माओवादीले आजै सरकारमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सदस्यलाई मन्त्रिमण्डलमा समावेश गरी नयाँ गठबन्धन सरकारको कामलाई अघि बढाउन तयारी गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update