हिमाल दैनिक
राजनीतिक बेइमान र विश्वासघाती प्रधानमन्त्री दाहाललाई समर्थन गर्न सकिन्नः कांग्रेस
नयाँबानेश्वरस्थित संघीय संसद भवनको लोत्सेहलमा नेपाली कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकमा नेका सभापति शेरबहादुर देउवा, उपसभापति द्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायत सहभागी । तस्बिरः प्रदीपराज वन्त/रासस

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक बेइमानी र विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको छ। ्

करिब एक बर्षअघि बनेको सत्ता गठबन्धनको प्रमुख सहयात्री दल नेपाली कांग्रेसलाई पत्तै नदिई नेकपा एमाले लगायतका दलसँग प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन निर्माण गर्दै कांग्रेसलाई सत्ताबाट बाहिर हुत्याएलगत्तै बिहिबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकले यस्तो निश्कर्ष निकालेको हो।

सरकारबाट पाखा लागेपछि विपक्षी बेञ्चमा पुगेको कांग्रेसले नेपालको संविधानको रक्षा, परिवर्तनको सुदृढिकरण गर्दै दिगो शान्तिका साथै बिकास र समृद्धि तथा स्थायीत्वका लागि गठबन्धन बनाएपनि प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले गठबन्धनप्रति कांग्रेसले इमान्दारीता देखाएको भन्दै कपोकल्पित कारणहरु देखाएर गठबन्धन भत्काउने प्रधानमन्त्री दाहालको कदमलाई राजनीतिक बेइमानीका रुपमा लिएको बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पछिल्लो कदमलाई राजनीतिक बेइमानीको संज्ञा दिँदै कांग्रेसले प्रधानमन्त्री दाहाललाई एक वर्षअघि दिएको विश्वासको मत र समथर्न समेत फिर्ता लिने निर्णय गरेको नेता लेखकले जानकारी दिए।

दाहालले नयाँ गठबन्धन बनाउँदै सरकारमा अन्य दलका सदस्यलाई मन्त्री पदमा नियुक्त गरेलगत्तै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सदनमा प्रमुख प्रतिपक्षीको रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा आज बसेको बैठकले पार्टीका सांसदहरुलाई देश जनताका हितमा प्रभावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update