हिमाल दैनिक
प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन सांसदहरुलाई कांग्रेसको ब्हिप

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारको प्रतिनिधि सभा बैठकमा संविधानको व्यवस्था बमोजिम विश्वासको मत लिने तयारी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाहालको विपक्षमा मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार प्रतिनिधि सभाका सदस्यहरुको नाममा ब्हिप जारी गर्दै फागुन ३० गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत छ भन्ने प्रस्ताव राखेको खण्डमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

करिब एक वर्षअघि तत्कालिन नेकपा एमाले लगायतका दलसँग बनाएको गठबन्धन भत्काएर ११ महिनासम्म कांग्रेससँग सत्ता साझेदारी गर्दै आएका दाहालले एकाएक विभिन्न कारणहरु देखाउँदै कांग्रेससँगको गठबन्धन भत्काउन पुगेका थिए।

कांग्रेसलाई पाखा लगाउँदै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन पुगेका दाहालको कदमबाट आश्चर्यमा परेको कांग्रेसले फागुन २१ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निचोडमा पुगेको थियो।

उक्त निर्णयलाई कांग्रेस संसदीय दलको फागुन २४ गतेको बैठकले अनुमोदन गरेलगत्तै सभामुख देवराज घिमिरेलाई कांग्रेसका प्रमुख सचेतक लेखकले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीलाई विश्वासको मत लिन ध्यानाकर्षण गराएका थिए।

संविधानको उक्त प्रावधान अनुसार, सरकारमा सहभागी कुनै पनि दलले विश्वासको मत फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्दछ। जसको आधारमा प्रधानमन्त्री दाहालले सम्भवत् फागुन ३० गतेको बैठकमा विश्वासको मत लिने छन्।

हाल देखिएको सत्ता गठबन्धनमा सहभागी दल र त्यसका सांसदहरुको संख्याका आधारमा प्रधानमन्त्री दाहाल सहज बहुमत प्राप्त गर्न सक्ने स्थितिमा छन्।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update