हिमाल दैनिक
प्रम दाहाललाई सांसद न्यौपानेको प्रश्नः फोहोरको डङ्गुरमाथि बसेर स्वच्छताको हुँकार कसरी गर्न सक्नु भाे?
file photo

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरी न्यौपानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले फोहोरको डङ्गुर थुपारेर त्यहीमाथि बस्दै स्वच्छताको हुँकार गरिरहेको आरोप लगाएकी छिन्।

प्रतिनिधि सभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्दै भर्खरैमात्र सत्ता साझेदार दलहरुको अदलाबदलीसँगै मन्त्रीहरुको हेरफेरबारे प्रधानमन्त्री दाहालले संसदभित्र र बाहिर दिएका विवादस्पद अभिव्यक्तिसँगै उनको दल र सरकारका मन्त्रीहरुको विवादस्पद गतिविधिबारे सांसद न्यौपानले चर्को आलोचना गरिन्।

प्रधानमन्त्री दाहालले आफू जनचाहना बमोजिम सुशासन र विकासको बाटोमा अघि बढिरहेको दाबीप्रति लक्षित गर्दै न्यौपानेले प्रश्न गरिन, ‘फोहोरको डङ्गुर थुपारेर प्रधानमन्त्रज्यू त्यसैमाथि बसेर स्वच्छताको हुँकार गरेको भनेर भन्न मिल्ने कि नमिल्ने?’

मन्त्रिमण्डलको पुनर्गठन लगत्तै फागुन २४ र विश्वासको मत माग्ने क्रममा बुधबारको संसद बैठकमा दाहालले मिटरव्याज, सहकारी पीडितहरुका अतिरिक्त न्यायको माग गर्दै विगत लामो समयदेखि सडकमा विरोध गरिरहेकी आरती साहको परिवारलाई न्याय दिलाएको भन्ने भनाईप्रति उनले गम्भीर आपत्ति प्रकट गरिन्।

उनले भनिन्, ‘मिटरव्याज, सहकारी पीडित एवं आरती साहको परिवारलाई अहिलेको सरकारले न्याय गर्यो भनेर बडो गर्वकासाथ संसदमा राख्नुभयो। म प्रश्न गर्न चाहन्छु, हिँजोको सरकार प्रमुख तपाई नै हुनुहुन्थेन र? अनि गृहमन्त्री पनि तपाईकै पार्टीको हुनुहुन्थेन र? या आफैँले आफैलाई एवं आफ्नै पार्टीको तर्फबाट पठाउनु भएको गृहमन्त्री दुबै अयोग्य होँ भनेर स्वीकार्नु भएको हो?’

साथै उनले बालकुमारी घटनाको विषयदेखि सहकारी ठगीको आरोप लागेर अनुसन्धानको घेरामा परेका रवि लामिछानेलाई गृहमन्त्री बनाएको तथा पूर्व उपराष्ट्रपतिका छोराहरुदेखि वर्तमान अर्थमन्त्रीसम्म सुनकाण्डमा मुछिएको विषयमा पनि प्रधानमन्त्रीसँग जवाफ माग गरिन्।

सांसद इश्वरी न्यौपानले संसदको विशेष समयमा दिएको भाषणको अंशः

ईधर देखा ना उधर देखा
जहाँ बैठे थे वहि देखा
लगा मुझे ये डगमगारही है तो
उथलपुथल के सिवा कुछ नहि सुझा।

सभामुख महोदय,

माईली राईको दर्दनाक कहानी थाहा नपाएको हामी कोही छैनौँ होला। श्रीमानको मृत्यु हुन्छ, घरबेटीले लास लग्न भन्छिन्। शव बहानलाई दिने चार हजार उनीसँग हुदैन। रीक्साबाट लास लग्छिन्। जलाउने पैसा हुदैन। समाजसेवी पूर्व प्रदेश सांसद नरोत्तम बैद्धले थाहा पाएर सहयोग नगर्नु भएको भए एउटा श्रीमतीले आफ्नो श्रीमानको दाहसंस्कार समेत गर्न सक्ने थिईनन्। आर्यघाटको १०७ नं कोठामा गएर बुझ्नुहोस् त ! त्यी गरिब महिलाको दर्द !

सभामुख महोदय,

छोरी आफ्नै घरमा जन्मदिने बाबुबाट, स्कुलमा पढाउने शिक्षकबाट सुरक्षित छैनन्, बलात्कृत भएकिछन्। एउटा सुनको सिक्री नपाउँदा बिबाह तोडिन्छ। दाइजो नपाउँदा महिलाको हत्या हुन्छ। बच्चा जन्माउन नसकेर दुरदराजमा महिलाको मृत्यु भएको छ। यि त केहि प्रतिनिधि घटना मात्र हुन्। सरकारको ध्यान कता छ? केवल कुर्सी बचाउन? म एउटी महिला, आमा, श्रीमती र छोरी१ तीन पल्ट सरकार परिवर्तन गरेर पटक पटक प्रधानमन्त्री भइरहदा कहाँनिर छोयो यस्ता घटनाले!’ सोच्न बाध्य छु।

आसन बदलियो कार्यभार बदलिएको छैन। काँध फत्रक्कै गलेपनि फेर्ने छुट कसैलाई छैन, सत्ता घटकको प्रमुख सचेतकको भनाई हो यो।

सभामुख महोदय,

तर, काँध फत्रक्कै गल्नै पर्दैन, बाँचुञ्जेल उथलपुथल गराईराख्ने, एवं आफ्नो पद जोगाई राख्नको लागि बिरोध गर्ने जो सुकैलाई पनि लात्ताले हान्ने, त्यो पनि वर्तमान प्रधानमन्त्रीज्युको लहड११ जबसम्म रहिरहन्छ, तबसम्म के त्यो सम्भव छ?

कसरी बिश्वास गर्ने सम्झौता अनुसार, अबको करिब १० महिनामा प्रधानमन्त्रीको कुर्सी अरुको भागमा जाने एवं आफुले छोड्नु पर्ने कारण होईन भनेर?

अनि के आधार छ हिजोको दिनमा दुईवटा पाइलटले चलाएको प्लेन जसरी दुर्घटना भयो, त्यसपछि एकअर्काका नेतालाई र तत्कालीन राष्ट्रपतिलाई१ सुन्न पनि अप्ठ्यारो लाग्ने भद्दा गालीको गर्जन सडकमा गुञ्जियो, तत्कालीन संसद विघटनको संघारमा पुग्यो, अब त्यस्तो दिन देश र जनताले भोग्नु पर्ने छैन?

आज कांग्रेसलाई दुई पटक प्रधानमन्त्री बनाएर गुण लगाएको भनेर सदन समक्ष भन्नु त भयो। तर, छातिमा हात राखेर सोच्नुहोस्, कस्ले कसलाई गुण लगायो?

त्यसबेला नेपाली कांग्रेसका सभापतिज्युलाई भन्नुभएको म झल्झली सम्झिरहेकोछु, संविधानमाथि खतरा आयो, प्रतिगमन भयो, त्यसलाई बचाँउन सहयोग गर्नुपर्यो, तपाईं प्रधानमन्त्री बनिदिनुपर्यो।

रहरले, चाहेर गिडगिडाएर मलाई प्रधानमन्त्री बनाइदेउ भनेर हाम्रो सभापति प्रधानमन्त्री बन्नुभएको थिएन। जनतासँग पाँच वर्षको लागि गरेको बाचा बिर्सिएर, सदन विघटनको संघारमा पुग्दा त्यो परिस्थितिको उपज थियो प्रधानमन्त्री पद। कल्पना गर्नुस त! हामीले मात्र साथ नदिएको भए आज कहाँ हुनुहुन्थ्यो? कति सिट आउथ्यो? भन्न बाध्य भए म नेकपा केन्द्र भनेर एउटै पार्टी बनेर निर्वाचनमा जनतासँग भोट मागेर बिजयी भइसकेपछि गरेको जनताप्रति गरेको घातको पुनरावृत्ति हो यो तपाईंको कदम। त्यहि प्रकारकै धोका, त्यस्तै दोष, त्यहि दृष्टि!!

आज फेरि त्यहि शब्द दोहर्याउनु भएको छ संसदमा। कांग्रेस संविधानप्रति बफादार भएन, संविधान रक्षाकालागि यो गठबन्धन गर्नुपर्यो।

महासमितिमा धर्मको कुरा उठाए, गठबन्धनको कुरा उठाए त्यसैले गठबन्धन फेर्नुपर्यो!

हेक्का रहोस्, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ जिवन्त छलफल हुन्छन्, वादबिबाद हुन्छ। आफ्ना कुरा खुलेर राख्न पाइन्छ, आवाज सुनिन्छ, सहि छ भने एकजनाको पनि आवाजको कदर हुन्छ र दस्तावेजमा समावेश गरिन्छ र अन्तिम निर्णय खुसिसाथ सबैले मान्ने परिस्थिति हुन्छ। त्यसैले त हामी गर्व गर्छौ, हामी कांग्रेसी हौँ।

दस्तावेज पढ्नुभयो? कहाँ लेखेको छ धर्मको कुरा? कहाँ लेखेको छ गठबन्धन बिरोधि कुरा? बरु भनिदिनुहोस्, त्यी भोट हालेका जनतालाई मेरो स्वभावजन्य कृयाकलापको कारण गठबन्धन फेरेँ भनेर। स्वभाव परिवर्तन त गर्न गार्हो हुन्छ नी, जनताले त्यहि सम्झेर माफ गरिदेलान्।

नत्र तपाइले भन्दै आउनुभएको प्रतिगमन आज सच्चीएको हो? हो भने यस्को आधार के हो? कतै सरकारको नेतृत्व आफुले गर्ने मन्त्रीहरुलाई दोष दिएर आफ्नो कुर्सी बचाँउन त लाग्नुभएको छैन भनेर जनताले प्रश्न गरे यस्को पुष्टि गर्ने आधार छ?

सभामुख ज्यू,

मन्त्रीहरु इन्भेष्टीगेशनको दायरामा आए भनेर यहि सदन कैयौ दिन अवरुद्ध भयो। इन्भेष्टीगेशनको दायरामा  रहेका व्यक्ति यो मन्त्रीमण्डलमा समावेश छन कि छैनन्?

गठबन्धनमा बहुमत पुर्‍याउनकै लागि दाग लागेका मान्छेलाई समेत समावेश गर्नुपरेको छ भनेर प्रधानमन्त्रीको पार्टीकै नेता  पूर्व मन्त्रीले भन्नुभएको छ। त्यसको वास्तविकता के हो? स्वार्थ बाझिने मन्त्रालय सम्बन्धित व्यक्तिलाई दिएर कस्तो न्याय सम्पादन एवं कस्तो पद्धतिको विकास गर्दै हुनुहुन्छ?

पूर्व उपराष्ट्रपतिका छोराहरु एवं सचिवालय मात्र होइन, वर्तमान अर्थमन्त्री समेत १३८ किलो सुनमा मुछिएको खबर बाहिर आएको छ। त्यस्को वास्तविकता के हो?

फोहरको डङ्गुर थुपारेर, प्रधानमन्त्रीज्यू त्यसैमाथि बसेर  स्वच्छताको हुङ्कार भरेको भनेर भन्न मिल्ने कि नमिल्ने?
मिटरव्याज, सहकारी पीडित एवं आरती साहको परिवारलाई अहिलेको सरकारले न्याय गर्यो भनेर बडो गर्वको साथ संसदमा राख्नुभयो। म प्रश्न गर्न चाहन्छु हिजोको सरकार प्रमुख तपाईं नै हुनुहुन्थेन र? अनि गृहमन्त्री पनि तपाईकै पार्टिको हुनुहुन्थेन र? या आफैले आफैलाई एवं आफ्नै पार्टीको तर्फबाट पठाउनु भएको गृहमन्त्री दुबै अयोग्य हौ भनेर स्विकार्नु भएको हो? संसद केहि दिनदेखि अवरुद्घ, अनि सभामुखज्यूको रुलिङ, फेरि रुलिङ चलिरह्यो। बालकुमारी लगाएत घटनाले, प्रधानमन्त्रीज्यू आउनुभएन, जब आउनुभयो सानको साथ जवाफ दिनु भयो अवरुद्ध संसद खुल्यो। कारण मन्त्रिमण्डलको पुनर्गठन भएको छ।

मात्र मन्त्रिमण्डल पुनर्गठन गर्दैमा बालकुमारी घटनाको पिडितले न्याय पाएको मान्दिनु पर्ने हो? को दोषीलाई के कारबाहि भयो? जवाफ दिनु पर्छ कि पर्दैन?

अझ हाँस्यास्पद अर्थमन्त्री बेठिक उहाँले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकता ठिक? छलफल यसैमा हुनुपर्ने!! सिद्धान्त र प्राथमिकता समेत ल्याउन नसक्ने यो सरकारसँग जनताले के को आशा गर्ने?

सभामुख महोदय,

म प्रश्न गर्न चाहन्छु, त्यो पार्टीको नेतालाई जस्ले १७ हजार प्लस २ भनेर सडक तताउनु भयो, अनि हामीबाहेक सबै पार्टी मिलेर सरकार चलाउनुहोस्, हामी सरकारमा जाद‌ैनौँ, प्रतिपक्षको बेञ्चमा बसेर खबरदारी गर्छौँ, जनताको कुरा उठाइराख्नेछौँ भनेर सदनमा बोलेको कति भयो? आफैले बोलेको बोलिमा केहिदिन पनि नअडेर खुट्टा उचालेर सरकारमा जानु मिसन ८४ हो?

नेतृत्व उहीँ छ फेरीएको छैन, बाहिरबाट समर्थन गरेर केही दिनसम्म सरकारको खबरदारी गर्छौ भन्न पनि सक्नुभएन। हिजो त्यहि नेत्रृत्वप्रति आफैले उठाउनुभएको आफ्नै प्रश्नहरुको जवाफ कसरी दिनुहुन्छ?

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update