हिमाल दैनिक
क्रिकेटः आयरल्यान्डविरुद्ध सान्त्वना जितको संघर्षमा नेपाल ‘ए’ टिम
Photo: @CricketNep

आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य लिएर अहिले मैदानमा उत्रिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा नेपाल उक्त लक्ष्य हाँसिल गर्ने क्रममा १६ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ९२ रन बनाएको छ।
नेपालका लागि ओपनर व्याटर्सद्वय अर्जुन कुमाल र अर्जुन साउदले क्रमशः २३ र ३६ रनसहित ६८ रन बनाएपनि ३० बलको सामना गर्दै ३६ रन बनाएका साउद ११.६ ओभरमा आउट हुन पुगे।
अहिले कुमाललाई देव खनालले साथ दिइरहेका छन्।  

टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो।

आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले। उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए।

त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१  र फिन ह्यान्डले २० रन जोडे।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक÷एक विकेट लिए। यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो। आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update