हिमाल दैनिक
एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाली व्याटर्सं नचल्दा युएईले पायो १२० को झिनो लक्ष्य
Photo: @CricketNep

एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा नेपालको फितलो प्रदर्शनकाकारण संयुक्त अरब इमिरेट्स (युएई)ले जम्मा १२० रनको झिनो लक्ष्य पाएको छ।

युएई विरुद्धको ओमानको अमरात क्रिकेट मैदानमा सुरु भएको सेमिफाइनल खेलमा टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रिएको नेपाली टिमका तीन खेलाडी बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसकेपछि नेपालले २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११९ रन मात्रै जोड्न सफल भयो।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको नेपालका ओपनर ब्याटर्स कुसल भुर्तेल पहिलो बलमै सून्यमा आउट भएपछि धर्मराएको नेपाली टिमलाई कप्तान रोहित पौडेलले पनि खासै थेग्न सकेनन्।

उनीसँगै मैदानमा रहेका अर्का ओपनर ब्याटर्स आसिफ सेख पनि ११ बल खेल्दै ८ रनमा साफी रहमानको बलमा एलबी डब्ल्यूमा आउट भएपछि लर्खराएको नेपाली टिमका कप्तान पौडेल पनि १८ बलको सामना गर्दै जम्मा ५ रनको योगदान दिएर बाहिरिए।

यसअघिका खेलमा राम्रो प्रदर्शन गरेर प्रशंसा कमाएका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि क्रमशः तीन र ५ रन बनाउँदै आउट भएपछि नेपाल ९ ओभरको खेल सकिँदै गर्दा जम्मा जम्मी ५० रन बनाउन सफल भएको थियो।

नेपालका लागि सन्दीप जोराले मात्रै ४० बलको सामना गर्दै ५० रनको योगदान दिए भने उनलाई गुल्शन झाले २० रनको साथ दिए। यसका अतिरिक्त नेपालका लागि करण केसीले २ छक्का हान्दै १७ रनको योगदान दिएपनि बाँकी खेलाडी युएईका बलर सामु टिक्न नसक्दा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाउन सफल भयो।

नेपाल विरुद्ध १२० रनको लक्ष्य पाएर दोस्रो इनिङमा मैदानमा उत्रिएको युएईले २ ओभरमा एक विकेट गुमाउँदै १५ रन जोडेको छ।

युएईका ओपनर ब्याटर्स मो. वासिमलाई बोल्ड गरेपछि अहिले युएई लक्ष्इ हासिलका लागि खेल्दै छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update