हिमाल दैनिक
एमाले नेतादेखि पूर्वराष्ट्रपति भण्डारीलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण के हो यसबारे गम्भीर भएर खोजबिन गर्न एमाले पार्टी र यसको नेतृत्वलाई सुझाव दिएका छन्।

विगतमा प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित कार्यक्रमहरुमा विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल वा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालहरुमाझ उभिएर मन्तव्य दिँदै गर्दा सधैँजसो वाककटुतामा भुत्ते जस्तै देखिने सभापति देउवाले सोमबार भने यी नेता उनीहरुका कार्यकर्तामाझ धारिलो प्रश्न उठाइदिए।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमाले पार्टी पार्टीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान गर्न गोदावरीमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका देउवाले एमाले नेता, कार्यकर्ता र मदन भण्डारी पत्नी विद्यादेवीकै सामु गम्भीर प्रश्न उठाए।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं भण्डारी पत्नी पूर्व राष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्मान समग्र लोकतान्त्रिक गणतन्त्रप्रतिको आस्था र विश्वासमाथिको सम्मान भएको भन्दै थप जिम्मेवारीबोध भएको बताइन्।

उनले एमालेका तत्कालिन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको भन्दै निकै भावुक मुद्रामा आफ्नो अभिव्यक्ति दिइन्। त्यस क्रममा उनले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न आफू राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन्।

उक्त कार्यक्रममा सहभागी हुँदै आफ्नोे शुभकामना व्यक्त गर्न पुगेका देउवाले बोल्ने क्रमको सुरुमै आफूले आजको कार्यक्रममा मदन भण्डारी जस्ता व्यक्तिको विषयमा राम्रै कुरा गर्ने इच्छा र मन लिएर उपस्थित भएपनि सभामा बोल्ने एमालेका वक्ताहरुले आफू र आफ्नो पार्टी कांग्रेसप्रति गाली गरेपछि केही भन्ने पर्ने स्थिति बनेको बताए।

कम्युनिष्ट नेताहरुमाझ फितलो वक्ताका रुपमा देखिँदै आएका देउवाले धारिलो प्रश्न गर्नु अघि भने, ‘म आज वास्तवमा भन्नु हुन्छ भने, मदन भण्डारी जस्तो व्यक्तिको विषयमा राम्रै कुरा गर्ने मेरो इच्छा थियो। अहिले पनि राम्रै कुरा गर्ने मेरो मन छ। तर, अहिले यहाँ आएपछि कांग्रेसलाई गाली गर्नेसम्म गाली गर्नु भयो उहाँहरुले। (उहाँहरु भनेको एमालेले भन्नु है।)’

कार्यक्रममा बोल्ने वक्ताहरुले उठाएका प्रश्नहरुको प्रतिवाद गर्न तयार देखिएका देउवाले थप्दै भने, ‘अब मैले जवाफ दिन परिहाल्यो, के गर्ने? मलाई गाली गरेको गर्यै गर्नेहरुले मदन भण्डारी किन मरे किन भन्न सक्दैन? मदन भण्डारीलाई मारेको कुराबारे कोही बोल्दैनन्।’

०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परि भण्डारी र अर्का नेता जीवराज आश्रितको रहस्यमय निधनप्रति देउवाले उक्त घटना रहस्यमय भएको उल्लेख गर्दै यसबारे छानविन र सत्यतथ्य बाहिर ल्याउन एमाले र यसको नेतृत्व किन गम्भीर नभएको भनि प्रश्न तेस्र्याए।

उनले भने, ‘मदन भण्डारी रहस्यमय ढंगले मरे। कसले रोकेको छ खोज्नका लागि? के कांग्रेसले रोकेको हो? कसले रोकेको छ यो? आफू खोज्न नसक्ने, अनि कांग्रेसलाई गाली गरिरहने? मदन भण्डारीको हत्यारा को हो, अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उसको ड्राइभर (अमर लामा) पनि मारियो। कसले मार्यो त्यो पनि पत्ता लागेको छैन।’

मदन भण्डारी नेता हो, राम्रो नेता हो, यसमा दुई मतै छैन भन्दै देउवाले थपे, ‘तर, मार्ने को हो? अहिलेसम्म पत्ता किन लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। तर, हाम्रो पनि कुरा भन्नु पर्यो नि। किन मदन भण्डारीको हत्याको पत्ता लागने? कांग्रेसले रोक्या छ यहाँ? कसले रोकेको हो?’

विगतमा भण्डाी र आश्रितको हत्याप्रति एमाले नेता, कार्यकर्ताले तत्कालिन सरकार र कांग्रेससँगै देशी, विदेशीको हात रहेको भन्दै आक्षेप लगाउँदै आएपनि देउवाले आजको कार्यक्रममा एमाले नेतामात्र होइन, स्वयं भण्डारीकी पत्नी जो मुलुकको राष्ट्रपति पदमा दुई दुई पटक निर्वाचित भई कार्यकाल समाप्त गरी बसिरहेकी छिन् उनी र एमालेबाट सरकारमा प्रधानमन्त्री, मन्त्री बनिसकेका नेताहरुप्रति पनि प्रश्न उठाए।

उनले भने, ‘त्यसकारण उहाँको पत्नी दुई पटक राष्ट्रपति बनिसक्नु भो। प्रधानमन्त्रीहरु बनिसक्या छन् सबै। खोई पत्ता लागेको? त्यसकारण मलाई विरोध वा गाली गरेर केही हुने वाला छैन। पत्ता लगाउनु पर्यो तपाइहरुले।’

कार्यक्रममा सभापति देउवाले मुलुकको व्यवस्थाको सुदृढ गर्दै मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउने सबैको जिम्मेवारी भएको भन्दै दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्ने बताए।

साथै उलने संसदमा प्रतिपक्षीले उठाएका बिषयहरुलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने सझाव दिए।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update