नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियानको शुभारम्भ गर्दै भदौ २४ को हिंसात्मक विद्रोहको आडमा अपदस्त प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पाटीबिरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध डटेर सामाना गर्ने बताए।
ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने दाबी समेत गरे।
उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राखे।
पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए।
उनले पार्टी नेतृत्वमा रहेकाले आफुले पार्टी सफल हुँदा वा असफल हुँदा दुबै अवस्थामा आफूले जिम्मेवारी लिने स्पष्ट पारे।
तर, पार्टी सफल हुँदा सबैले श्रेय लिने, अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको गुनासो गरे।
अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए।



