हिमाल दैनिक
एमाले उपाध्यक्ष पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले सोमबार पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरेको थियो। 

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न बिभागलाई अनुमति दिएको हो।

यसअघि विभागको पत्रका आधारमा प्रहरीले एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पौडेललाई गत असार ८ गते सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात माइक्रोबसमा राखेर राजधानी ल्याएको थियो।

राजधानी ल्याएलगत्तै विभागको कार्यालयमा उपस्थित गराइएका पौडेललाई त्यसलगत्तै अदालतमा थुनामा राखी अनुसन्धानको अनुमति माग्दै विभागले असार ८ गते नै विशेष अदालतमा उपस्थित गराएको थियो। 

जसलाई ८ गतेदेखि नै लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सात दिनको म्याद सकिएसंगै पुनः म्याद थपका लागि बिभागले पौडेललाई सोमबार अदालतमा हाजिर गराएको हो। 

अदालतको आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको बिषयमा भइरहेको अनुसन्धानका सिलसिलामा पौडेललाई पक्राउ गरेको बिभागले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update