हिमाल दैनिक
वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
Photo: @CricketNep

टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल त्यसपछिको दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।

    यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए ।

    बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।

    एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥र्यो । अठारौँ ओभरमा कुशल मल्लले पाँच बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले चार चौका र एक छक्का प्रहार गरे । उनले १८ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।
 
    त्यस्तै आसिफ शेखले ५१ रनको योगदान दिए । उनले ३५ बलमा दुई चौका र चार छक्का हाने । अनिल शाहले ४५ बलमा चार चौका र चार छक्कासहित ५८ रन बनाए । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।

    बलिङतर्फ वेष्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update