हिमाल दैनिक
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ।

बिहिबार नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

प्रदेश प्रमुख पर्शुराम खापुङले वुधवार राति मुख्यमन्त्रीमा दाबी  पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

यसअघि तत्कालिन सत्ता गठबन्धनको तर्फबाट केन्द्रीय तहमा कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपनि प्रदेश सभाका सदस्य एवं वर्तमान मुख्यमन्त्री केदार कार्कीले पार्टी निर्णय विपरित नेकपा एमालेको समर्थनमा उपधारा ५ बमोजिम आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेका थिए। पार्टीकै ८ जना सदस्यहरु लिएर कार्कीले गरेको आन्तरिक विद्रोहका कारण कांग्रेस र माओवादी गठबन्धनको नेतृत्वले एक कदम पछि हट्दै कार्कीलाई नै मुख्यमन्त्री पदमा समर्थन जनाएका थिए।

तर, गत फागुन २१ गते एकाएक नेकपा एमालेसँग प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन गर्दै कांग्रेसलाई पाखा लगाइदिएपछि यसको असर प्रदेश तहसम्मै पर्न गएको थियो। फलस्वरुप कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि उनी अल्पमतमा पर्न पुगेका थिए।

तथापि उनले सदनबाट विश्वासको मत लिन अस्विकार गरेपछि एमाले र माओवादीले बुधबार प्रदेश प्रमुख खापुङ समक्ष उपधारा ५ बमोजिमकै सरकार गठनको लागि प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए।

माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा बैठक बसि निर्णय गर्ने जानकारी दिए।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update