हिमाल दैनिक
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका सांसद कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।

झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचिन भएका कार्की यसअघि पनि उक्त प्रदेशको मुख्यमन्त्री पदमा पटक पटक निर्वाचित भई काम गरिसकेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि सोही उपधारा बमोजिम नेपाली कांग्रेसका सांसद केदार कार्कीले पार्टी नेतृत्वको निर्णय लत्याउँदै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्ति लिएर विश्वासको मत समेत लिएपनि फागुन २१ गते केन्द्रीय तहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सत्ता गठबन्धन भत्काउँदै एमाले लगायतका दलसँग नयाँ सत्ता समिकरण गरेपछि नयाँ गठबन्धनको निर्णय पश्चात केदार कार्की अल्पमतमा पर्न पुगेका थिए।

उनी अल्पमतमा परेपछि बहुमत सदस्यको समर्थन हिक्मत कार्कीको पक्षमा रहेको भन्दै एमाले र माओवादीका प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी बिहिबार प्रदेश प्रमुख समक्ष पेश गरेका थिए।

त्यस लगत्तै प्रदेश प्रमुखको कार्यालयले सांसदहरुको हस्ताक्षर सनाखत गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले जानकारी दिए।

प्रदेश प्रमुख पर्शुराम खापुङले वुधवार राति मुख्यमन्त्रीमा दाबी  पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

संविधानको उक्त उपधारा बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले अबको ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ। यदि सो अवधिमा उनले विश्वासको मत लिन नसकेको खण्डमा संविधान बमोजिम प्रदेश प्रमुखले विश्वास गरेको व्यक्ति मुख्यमन्त्री पदमा नियुक्त हुन सक्ने व्यवस्था छ। यदि उसले पनि विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा निजको सिफारिसमा मुख्यमन्त्रीले प्रदेश सभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गर्न सक्ने व्यवस्था पनि रहेको छ।

तर, माओवादी र एमालेबीचको पछिल्लो सत्ता समिकरणले कोशी प्रदेशमा सम्भावित मध्यावधि निर्वाचनलाई टारेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update