हिमाल दैनिक
संसद विघटन गर्ने कोशिशमा केपी र प्रमाण नष्ट गर्ने प्रयासमा रवि लागेका छन्ः नेता कोइराला
Photo: Dinesh Chandra Thapaliya

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विभिन्न सहकारीको रकम गैरकानुनी ढंगले हिनामिना गरेको आरोप लागेका सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदमा रहेर आफूमाथिको प्रमाण नष्ट गर्न खोजिरहेको आरोप लगाएका छन्।

प्रजातान्त्रिक विचार समाजले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी नेता कोइरालाले कांग्रेसले जनताले उठाएका कुरालाई संसदमार्फत स्पष्ट राखेको बताए।

बजेट अधिवेशनको पहिलो दिनदेखि नै अवरुद्ध रहँदै आएको संसद बैठकमा लामिछानेलाई बोल्न कांग्रेसले रोक लगाएको भन्ने आरोपको खण्डन गर्दै नेता कोइरालाले विगतका संसदीय परम्परा र अभ्यासहरुमा कुनै बेला कांग्रेस नेता रामशरण महत वा एमाले नेता भरतमोहन अधिकारी अथवा माओवादी नेता जनार्दन शर्माविरुद्ध आरोप लागिसकेपछि संसदमा बोल्न दिइएको थियो र अहिले रविलाई बोल्न दिइएन भन्ने भनि प्रतिपश्न गरे।

कांग्रेसले पहिलो दिनको संसद बैठक सुरु हुनुअघि सभामुख र दलका नेताहरु सहभागी बैठकमा आफूहरुले गृहमन्त्री लामिछानेलाई बोल्न नदिएको नभई सुरुमा उनी बोल्ने हो भने उनले बोलिसकेपछि त्यसबाट चित्त नबुझेको खण्डमा कांग्रेसले आफ्ना कुराहरु राख्न पाउनु पर्ने माग गर्दा लामिछानेसहित सत्ता पक्षका नेताहरु नमानेको बताए।

कोइरालाले गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै भने, ‘कांग्रेसले रवि लामिछानेजीले राजीनामा गर्नु पर्छ पनि भनेको छैन। हामीले त के भनिरहेका छौँ भने, छानविन समिति बनाउँनुहोस्। र त्यो छानविन समितिमा गृहमन्त्री आफैँ उहाँको नाम पटक पटक विभिन्न सहकारीहरुबाट आएको छ, र उहाँले नै गृहमन्त्री भएको नाताले उहाँ पुलिस प्रशासनको पनि जिफ हुनु भयो, त उहाँले कसरी न्याय दिन सक्नुहुन्छ? अब यो कुरामा सत्तापक्षका साथीहरु, सत्तापक्षका दलहरु स्वीकार्ने पक्षमा देखिइरहनु भएको छैन। यो गम्भीर प्रकृतिको विषय भएर अगाडि बढेको छ।’

नेपाली कांग्रेसले जनताले सडकमा उठाएको कुरा आफूहरुले सदनमा उठाएको उल्लेख गर्दै भने, ‘कसैले मकै पोलेर जम्मा गरेको पैसा सहकारीमा राखेको होला, कसैले पानी बेचेर होला, कसैले चिया बेचेर वा पान बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदाखेरी जनता सडकमा आए, हामीहरुले संसदमा त्यी कुराहरुलाई स्पष्ट राखिदिएका हौँ।’

त्यसैगरी नेकपा एमाले अध्यक्ष केपी शर्माका पछिल्ला अभिव्यक्तिहरुप्रति लक्षित गर्दै नेता कोइरालाले जवाफ दिँदै भने, ‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइराखेको छ, राजाको धम्कीबाट नेपाली कांग्रेस डराएन भने कुनै राजनीतिक दलको धम्कीबाट पनि हामी डराउँदैनौँ।’

यसका अतिरिक्त एमाले अध्यक्ष ओलीले पछिल्लो समय गरेका राजनीतिक गतिविधिको विश्लेषण गर्दै उनले एमाले अध्यक्ष ओलीले अहिले पनि संसद विघटन गरेर ०७७ पुस र ०७८ जेठमा चालेको संसद विघटनको कदम सहि थियो भनि पुष्टि गर्न उद्दत रहेको आरोप समेत लगाए।

यसका लागि ओलीले वर्तमान सत्ता गठबन्धनकै घटकमध्ये जनता समाजवादी पार्टी नेपाल फुटाउनेदेखि सरकार गठनको प्रक्रियालाई संविधानको धारा ७६ को उपधारा ३ हुँदै ५ मा पुर्याएर यसअघि आफूले चालेको संसद विघटनको कदम सहित थियो भन्ने कुरालाई पुष्टि गर्न लागिरहेको आरोप पनि लगाएका थिए।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update