हिमाल दैनिक
ओलीको उपहार ‘तबला’ गिरीबन्धुमा लगेर फुट्नेगरी बजाइदिए बालेनले!

करिब एक वर्षअघि आफूलाई भेट्न आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अचानक आफूसँग भएको एउटा तबला उपहार दिएपछि उक्त तस्विरकाबारेमा संचारमाध्यमदेखि सामाजिक संजालमा ठूलो स्वरले गुञ्जिएमान भएको थियो।

आधुनिक पपसँगै र्याप गायक बालेनले सबै दललाई चकित पार्दै काठमाडौं महानगरको मेयर बनेपछि एकाएक राष्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा रहन पुगेका बालेन २०७९ असार २९ गते साँझ ओली निवास बालकोटमा भेटका लागि पुगेपछि उनको कलाप्रतिको सम्मान स्वरुप सायद ओलीले आफूसँग रहेको तबला उपहार दिएका थिए।

तर, पछिल्लो समय न्यूरोडको सडक पेटी विस्तारको विषयमा सडक विभाग र महानगरपालिकाका मेयर बालेनबिच द्वन्द चुलिँदै गएपछि सोमबार एकाएक महानगर र सडक विभागबिचको टकराबको तारो बालकोटतिर सोझिन पुगेको छ।

फलस्वरुप मेयर बालेनले सामाजिक संजालमार्फत अध्यक्ष ओलीविरुद्ध उनैले उपहार स्वरुप दिएको तबला नै फुट्नेगरी कटाक्षको आवाज घन्काए। जसको चर्चाले अहिले सामाजिक संजालमा तबलाको भन्दा कर्कश आवाज निक्लँदैछ।

सोमबार आफ्नो फेसबुक र ट्वीटरमार्फत बालेनले ओलीविरुद्ध कडा प्रहार गर्दै न्यूरोडको फुटपाथ विस्तार गर्ने महानगरको प्रयासलाई रोकेर पुनः सडक विस्तारको काम अघि बढाउन लगाएको आरोप लगाएका छन्।

ओलीका विश्वासपात्र रघुबीर महासेठको मन्त्रालय मातहतमा रहेको सडक विभागले महानगरको काममा अवरोध खडा गरेपछि ओलीविरुद्ध खनिएका बालेनले यसलाई गिरीबन्धुको जग्गा प्रकरणसँगै उब्जिएको वैना विवादलाई विषयान्तरण गर्ने प्रयासको संज्ञा समेत दिएका छन्।

पछिल्लो समय सर्वोच्च अदालतले तत्कालीन सरकारका प्रधानमन्त्री र मन्त्रिपरिषदले कानून विपरित झापास्थित गिरीबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने गैरकानुनी नीतिगत भ्रष्टाचार गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि उक्त विषयको विवादमा ओली तानिएका छन्।

Balen says1717399888.jpg

सोही विषयलाई लिएर बालेनले भनेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरुलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ,’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

गिरीबन्धु प्रकरणको ढाकछोपका लागि न्यूरोडको फुटपाथ विस्तारमा राज्यशक्तिको प्रयोग भएको भन्दे उनले भनेका छन्, ‘यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।’

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरेपनि काम हुनु राम्रो हो। तपाईको शक्तिले अब रिङरोड बनाउनु, बुटबल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ,’ मेयर बालेनले आफ्नो स्टाटस्मा भनेका छन्।

साथै उनले अन्त्यमा ओलीलाई चुनौतीको भाषामा भनेका छन्, ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update