हिमाल दैनिक
राजनीतिक खेल नबुझी बुढानिलकण्ठबाट बालकोट भागेका दाहालले बल्ल बल्ड्याङ खाएः केसी

राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकै अस्थिर र बढी बाठो बन्न खोज्ने स्वभावकै कारण अहिले सत्ताबाट बाहिरिनु पर्ने स्थिति उत्पन्न भएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै नेता केसीले संसदको तेस्रो दलको नेता भएर पनि कहिले बालकोट त कहिले बुढानिलकण्ठमा धाउँदै सत्तामा टिकीरहने बठ्याई गर्न खोज्दा आफैँ ढलेको बताए।

उनले गत आम निर्वाचन लगत्तै तत्कालिन चुनावी गठबन्धनबाट एकाएक नेकपा एमाले अध्यक्ष ओलीको गएकै दिनदेखि दाहालको दशा सुरु भएको पनि दाबी गरे।

संसदमा तेस्रो स्थानमा रहेर पनि सत्ताको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै उनले भने, ‘तपाईले वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल। तपाई पुस १० गते जहाँ पुग्नु भयो, त्यही दिनदेखि तपाईलाई दशा सुरु भएको थियो। त्यो बुझ्नु भएन। अब यसो भन्दाखेरि नराम्रो लाग्ला। तपाई कति चोटी बालकोट जानु भो? कतिपटक बुढानिलकण्ठ पुग्नु भो? यस्तरी चल्छ राजनीति?’

नेकपा एमालेले पाँच वर्ष नै दाहाललाई सत्तामा टिकाइराख्न सरकारमा सहभागी नभएको दाबी गर्दै पछिल्लो समय नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएपश्चात दाहालको स्थिति दयनिय बनेको बताए।

केसीले भने, ‘त्यसो भएर यो पछिल्लो पटक तपाईलाई पाँचै वर्षको लागि सत्तामा, शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिस्सिएको थिएन। लाटो खान्च एक बल्र्याङ, बाठो खन्छ तीन बल्र्याङ भनेजस्तो तपाईले बल्ल भोग्नु भो।’

गत फागुनमा कांग्रेसभित्रको आन्तरिक विवादलाई बहाना बनाएर गठबन्धन तोड्दै एमालेसँग गएपनि त्यतिबेलै एमालेको रणनीति के होला भन्ने अनुमान दाहालले गर्न नसेको जिकिर उनले गरे।

केसीले भने, ‘तपाईहरुको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टी (एमाले)ले अर्थमन्त्रालय किन लिएन? गृह मन्त्रालय किन लिएन? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ। दालमा काला है। ल भन्नुहोस्, बढानिलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएको कारणलाई आधार बनाएर फुत्त तपाई बालकोट पुग्नु भयो, त्यसको परिणाम भोग्नु भा छ अहिले। अब केही गरीपनि दुइटा ठूला पार्टी मिस्सिइसकेपछि हुनेवाला केही छैन। यो मुखको तितो पोख्ने मात्रै हो। धन्यवाद।’

केसीले देशका दुई प्रमुख दलहरुबीचको मिलनप्रति पनि आशंका गर्दै दुई ठूला पार्टी मिलेपछि नेपाल अब सबै क्षेत्रमा मुक्त हुनेवाला छ भन्ने खालको स्वर सदनभित्र र बाहिर सुनिन थालेको बताए।

साथै उलने प्रमुख दुई दल कांग्रेस र एमालेले यदी संसदीय व्यवस्थाप्रति विश्वास गर्ने हो भने दुई मध्ये एकले सत्ताको नेतृत्व नगरी विगतमा किन सानो दललाई सत्ताको नेतृत्व दिन गरेको भनि प्रश्न समेत उठाए।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update