नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको जानकारी दिएका छन्।
शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रशारण लाइनमा समस्या आउदा विद्युत् आपूर्तिमा अवरोध देखिएको बताए।
उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौं लगाएतका केहि स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको पनि बताए।
भारतबाट सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयात समेत केहि समय रोकिएका कारण बति जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाई छ।
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्ण रुपमा अस्वीकार गरेको छ।
कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गरिने भन्दै यसका लागि केहि समय लाग्ने उल्लेख गरे।
उनले अहिले करिव १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा २ हजार मेगावाट माग रहको जानकारी दिए।
प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समय समयमा बति जाने गरेको उनले बताए।
उनले आफु स्वयं प्रणाली नियन्त्रणमा बसेर हेर्दा प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सिमामा पुगेको देखिएको उल्लेख गरे।
जसका कारण उपत्यकाको माग धान्न अन्य क्षेत्रबाट आएको विधुतलाई चार्ज गर्न खोज्दा लाइन ट्रिप हुने गरेको उनले बताए।