हिमाल दैनिक
कांग्रेस सांसद गौतम भन्छन्ः जनतामा सरकार, संसद र न्यायपालिकाप्रतिको आशा र भरोसा मरिसक्यो, राष्ट्रिय सहमतिका लागि ढिला नगरौँ

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद गौतमले अहिलेको कांग्रेस–एमाले मिलेर सरकार बनाएपनि सरकार सरकार जस्तोगरि चल्न नसकेको आफूले अनुभूति गरेको बताए।

विगत ११ वर्षदेखि निरन्तर जनप्रतिनिधिको हैसियतले संसदमा रहँदा आफूले अहिले संसद पनि जुनताका मुद्दाहरुलाई उठाउने सवालमा चाहे अनुसार भाइब्रेसन हुन नसकेको मात्र होइन न्यायपालिकाबाट पनि जनताको आशा र भरोसा पैदा हुन नसक्दा निराश बनाएको बताए।

उनले थप्दै भने, ‘हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ। एक किसिमको नयाँ सोच र सम्भावनाको (क्रिएट) निर्माण गर्न सकिरहेका छैनौ।’

यसरी बोल्ने क्रममा हिन्दी सायरीको स्मरण गर्दै उनले भने, ‘देश हमारा है हम बना नही सके, समाज हमारा है, हम बदल नही सके’ भन्दै यही मनोविज्ञानबाट सबै प्रमुख दलका नेताहरुलाई उनले सामूहिक रुपमा आग्रह समेत गरे।

प्रमुख दलका शीर्ष नेताहरुप्रति आग्रह गर्दै भने, ‘अब धेरै भइसक्यो। अब बेर भइसक्यो, धेरै अबेला हुन्छ। एक पटक शीर्षस्थ नेताहरुले टाउको जोड्नुहोस्। अब मुलुकले एउटा राष्ट्रि सहमति निर्माण गर्नु पर्ने आवश्यकता देख्छु। राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौँ, संविधानलाई संशोधन गर्न सक्यौँ, जनतामा आशा र भरोसा पैदा गर्न सक्यौँ र मुलुकलाई निश्चित दुरीसम्म सँगै हिँडाउन सक्यौँ भने हामी एक ठाउँमा पुगौँला, होइन भने हामीले ल्याउको गणतन्त्र, हामीले ल्याएको संघीयता, हामीले ल्याएको तीन तहका सरकार, आज ८ वटा सरकार छन् देशमा ... भएपनि हाम्रो हालत राम्रो छैन।’

यसका लागि उनले सबै दलका नेतादेखि सांसद सदस्यहरुलाई पनि गम्भीर हुन आग्रह गरे।

यसरी राष्ट्रिय सहमतिको आवश्यकता औल्याइरहँदा सांसद गौतमले त्यो सहमति संविधान संशोधनको सवालमा मात्रै हो वा संघ र प्रदेश सरकारको गठन प्रक्रियामा पनि हो भन्नेबारे भने केही बताएनन्।

यसैगरी उनले आफ्नो जिल्ला वर्दियासहित बाँकेको भौगोलिक अवस्थिती र जनसंख्याको वनावटसहित विकासको सम्भावनालाई ध्यानमा राखेर ढिलो चाँडो यी जिल्लालाई लुम्बिनीबाट हटाएर कर्णाली प्रदेशमा जोड्न सकेमात्रै समग्र कर्णाली प्रदेशको विकास र समृद्धी हासिलको लक्ष्य पूरा हुन सक्ने बताए।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update