हिमाल दैनिक
राजनीतिक अभिष्ट पूरा गर्न धर्मको आडमा गरिने अपराधजन्य कार्य क्षम्य हुँदैनः गृहमन्त्री लेखक
file photo

गृहमन्त्री रमेश लेखकले पूर्वराजावादीहरुको नामबाट चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराधकर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर उक्त घटनालाई हेर्न नमिल्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान विपरित रहेको समेत दाबी गरे।

उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उल्लेख गर्दै उनले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे।

सभामुख देवराज घिमिरेले संसदीय नियमावली बमोजिम तीन जना सांसदहरुलाई प्रश्नोत्तरसँगै पुरक प्रश्न सोध्नका लागि समय उपलब्ध गराएका थिए। प्रस्तुत छ, उक्त प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवा, निशा डाँगी र सोविता गौतमले राखेका प्रश्न, पुरकप्रश्नसँगै मन्त्री रमेश लेखकको जवाफको सम्पादित अंशः

प्रेम सुवालको प्रश्नः सभामुख महोदय, सभामुख महोदयमार्फत गृहमन्त्रीसँग प्रश्न राख्न चाहन्छु। मन्त्रीजीले २०८१ चैत २९ गतेको राज्य व्यवस्था तथा सुशासन समितिमा हिन्दु धर्म उत्कृष्ट दर्शनमा आधारित भन्नु भयो। यो उत्कृष्ट दर्शनमा अन्धविश्वासका विषय छ कि छैन? २०२१ (भूलबस ८१ हुनुपर्नेमा) चैत १५ गते काठमाडौं तीनकुनेमा आगजनी र मान्छेलाई जीउँदै जलाउने हिन्दु हुन नसक्ने यहाँले बताउनु भयो। उनीहरु हिन्दु नभए को हुने भए? यस घटनाको छानविन गरी प्रतिवेदन सार्वजनिक गरी कारबाही गर्नु पर्ने होइन र? धन्यवाद।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदयलाई समयका लागि र माननीय सदस्यलाई प्रश्नका लागि धन्यवाद दिन चाहन्छु। सम्माननीय सभामुख महोदय, माननीय सदस्यले मैले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत गरेको अभिव्यक्तिमा प्रश्न राख्नु भएको छ।

म दुई÷तीन वटा कुरा स्पष्ट गर्न अनुमति चाहन्छु। पहिलो विषय धर्म व्यक्तिको व्यक्तिगत आस्था, व्यक्तिगत विश्वास हो। सबै मानिसको विभिन्न धर्मका प्रति आस्था र विश्वास हुन्छ। हिन्दु धर्मका प्रति, त्यो दर्शन र मान्यताका प्रति मेरो विश्वास छ, आस्था छ। मैले मेरो आस्था र विश्वासको अभिव्यक्ति गर्न पाउँछु। तर, त्यसको अर्थ अरु धर्महरु कम उत्कृष्ट छन् अथवा नराम्रा छन् भन्ने विल्कुल होइन।

नेपालको समाज विभिन्न धर्मले सुसज्जित छ। हाम्रो धार्मिक सहिष्णुता, धार्मिक मेलमिलाप हाम्रो विशेषता पनि हो, परम्परा पनि हो। हामी सबै धर्महरु एक अर्काकाप्रति सम्मान गर्दै एक अर्काको धर्मकाप्रति मर्यादा गर्दै आ–आफ्नो धर्म मान्ने र अर्काको धर्ममा अवरोध नगर्ने गरेर जाने हाम्रो पद्धती, परम्परा विशेषता हो र त्यसै बमोजिम जानु पर्छ भन्ने मेरो आग्रह हो।

अर्को विषय, कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैन। र कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त पनि प्रयोग गर्नु हुन्न। धार्मिक आवरणमा अपराधजन्य कार्यहरु गर्न हुन्न र राजनीतिक अभिष्ट पूरा गर्ने काम पनि गर्नु हुन्न भन्ने मेरो आग्रह हो।

सम्माननीय सभामुख महोदय, तसर्थ म पुनः अनुरोध गर्न चाहन्छु, मैले कुनै पनि हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेको हो। कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो कुरा होइन।

तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकोले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु। हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्दछ र त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन।

त्यसैले हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरित छ। जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन। साथै उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको व्यहोरा समेत अनुरोध गर्न चाहन्छु।
जोसुकै भएपनि आपराधिक कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु धन्यवाद।

सुवालको पुरक प्रश्नः सभामुख महोदय, गृहमन्त्रीज्यूसँग पूरक प्रश्न राख्न चाहन्छु। यो चैत्र १५ गतेको जस्तो तीनकुनेमा जुन घटना भयो, त्यस्तो दोहोरिन नदिन विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय निःशुल्क, देशमा रोजगारीको बन्दोबस्त र व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त भयो भने त्यस्तो नदोहोरिने हो कि होइन गृहमन्त्रीज्यू? धन्यवाद।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, पूरक प्रश्नकर्ता आदरणीय माननीयजीलाई पुनःपुनः धन्यवाद।
तीनकुनेमा जुन घटना घटित भएको छ, त्यसकाबारेमा मैले निवेदन गरिसकेको छु। त्यस्ता खालका अपराधजन्य घटनाहरु हुन नदिने कुरामा नेपाल सरकार सचेत छ, सतर्क छ। र हामी त्यो विषयमा गम्भीर छौँ। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

त्यसबाहेक, शिक्षा, स्वास्थ्य लगायतका जति पनि विषय माननीय सदस्यले उठाउनुृ भएको छ, त्यसतर्फ मेरो गम्भीर रुपले ध्यानाकृष्ट भएको छ। धन्यवाद।

सुवालको दोस्रो प्रश्नः सभामुख महोदय, गृहमन्त्रीज्यूसँग जिज्ञासा राख्न चाहन्छु। २०८१ चैत १५ गते काठमाडौं तीनकुनेमा अस्श्रुग्याँस, गोलीप्रहार, आगजनी समेतको घटनामा श्रमिक चालक सविन महर्जन र एभिन्यूज टेलिभिजनका फोटो पत्ररकार सुरेश रजकको मृत्यु के कति कारणले भयो? सरकार संचालित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगजनी, निजी र सरकारी घर र गाडीमा आगजनी र तोडफोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणमा आगो फ्याक्ने, पसल लुटपाट गर्ने, पार्टी कार्यालयमा तोडफोड गर्ने लगायतका घटनामा संलग्नलाई समयमै नियन्त्रणमा लिन सरकार किन सक्षम भएन? यो घटनामा छानविन र कारबाही के कस्तो भइरहेको छ? भौतिक वस्तुमा आगजनी र तोडफोड भएपछि आन्तरिक उत्पादन एकदमै कम भएको नेपालमा विदेशी पूँजीलाई फाइदा हुने विषय सरकारलाई कसरी थाहा भएन? धन्यवाद।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता माननीय सदस्यलाई धेरैधेरै धन्यवाद। सम्माननीय सभामुख महोदय, मिती २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजावादी समूहबाट भएको हिंसात्मक घटनाका सम्बन्धमा राख्नु भएको जिज्ञासाबारे मैले यसअघि नै संसदकै सम्मानित राज्य व्यवस्था तथा सुशासन समितिलाई समेत जानकारी गराइसकेको छु। र सम्मानित सदनमा पनि आज र यसपूर्व पनि मैले यसविषयमा समय समयमा जानकारी गराएको कुरा म अनुरोध गर्न चाहन्छु।

घटनामा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा परेर निधन भएको हो र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको थियो।

मैले यसबारे यसपूर्व नै दुःख व्यक्त गरिसकेको छु। उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ। स्वदेशी उत्पादनमा आधारिक औषधी कम्पनीमा आगो लगाइएकोले हिंसात्मक प्रदर्शनका आयोजकहरुले यसको जिम्मा लिनु पर्ने कुरामा सरकार प्रष्ट रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु। धन्यवाद।

पुरक प्रश्न सुवालः सभामुख महोदय, गृहमन्त्रीज्यूसँग पूरक प्रश्न राख्न चाहन्छु। सविन महर्जन र सुरेश रजक, जो २०८१ चैत १५ गते तीनकुनेको घटनामा मृत्यु भयो। उहाँहरु दुबैका परिवार कलेज पनि पढ्न चाहने रहेछन्, हामीले बुझ्दा। र सविन महर्जनको भर्खर आठ, दर्श वर्षको छोेरी र उहाँहरु तीनै जनालाई अब विद्यालय पढ्नेलाई विद्यालय, कलेज पढ्नेलाई कलेज पढ्ने बन्दोबस्त सरकारको तर्फबाट र त्यसपछि रोजगारीको, पहिले अध्ययनको बन्दोबस्त, त्यसपछि रोजगारीको बन्दोबस्त गर्ने सरकारको के कस्तो तयारी छ? धन्यवाद।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, पूरक प्रश्नकर्ता माननीय सदस्यलाई पुनः धन्यवाद। उक्त घटनामा परेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको र अर्का व्यक्ति सविन महर्जनको निधन भएको विषयमा मैले निवेदन गरिसकेँ।

माननीय सदस्यले उठाउनु भएको जिज्ञासामा उहाँहरु दुबै जनाको परिवारलाई नेपाल सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। र राहत उपलब्ध गराउने काम भएको छ। यसका साथसाथै, उहाँहरुको परिवार र आश्रितहरुका निमित्त पढ्ने र रोजगारीका बारेमा पनि सरकारले गम्भीर रुपले यो विषयलाई लिएको छ र यसबारे सरकारले सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।

निशा डाँगीको प्रश्नः सम्माननीय सभामुखमार्फत गृहमन्त्रीज्यूलाई मेरो प्रश्नः २०७९ साल फागुन २४ गते सर्वोच्च अदालतले झापाको गिरिबन्धु चिया बगान सम्बन्धी ३४३ बिगाह सरकारी जग्गा सट्टा सम्बन्धी निर्णयलाई असंवैधानिक ठहर गर्दै खारेज गर्ने आदेश दिएको थियो। तर, आजको दिनसम्म पनि उक्त आदेशको कार्यान्वयन भएको छैन र आदेशको आधिकारिक पत्र समेत हराएको भन्ने समाचारहरु सार्वजनिक भइरहेका छन्। सार्वजनिक सम्पत्तिसँग सम्बन्धित यस्तो संवेदनशील विषयमा गृहमन्त्रालयको तर्फबाट आदेश कार्यान्वयनमा ढिलाई हुनुपर्ने कारण के हो? म मन्त्रीज्यूलाई सोध्न चाहन्छु र पत्र हराउनु जस्तो लाहप्रवाही किन भएको होला? यो विषयमा पनि जानकारी गराइदिनु होला। त्यो सँगै मन्त्रालयले यसविषयमा जिम्मेवार निकायहरु विरुद्ध कसरी अनुसन्धान सुरु गरिरहेको छ र यस्तो प्रणालीगत कमजोरी दोहोरिन नदिनका लागि नीतिगत वा प्रशासनिक सुधारहरु गर्न मन्त्रालयले के कसरी काम गरिरहेको छ? यो विषयमा पनि जानकारी गराइदिन अनुरोध गर्दछु।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता माननीय सदस्यलाई धन्यवाद। सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता माननीयज्यूले उठाउनु भएको रिट नम्बर सायद २०७८ WC ०००४÷०७८ WC ००१२ र २०७६ WC ००३० को आदेशको कार्यान्वयनको सम्बन्धमा उहाँले प्रश्न उठाउनु भएको हो भन्ने मलाई लाग्दछ।

यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रालय प्रस्तुत मुद्दाहरुमा प्रत्यार्थी नभएको म सम्माननीय सभामुख महोदयमार्फत सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।

मुद्दाकाबारेमा सम्मानित अदालतहरुबाट आदेश जारी हुँदा, त्यसको कार्यान्वयन गर्दा मुद्दाका पक्ष र विपक्ष हुन्छन्। प्रत्यार्थी अथवा विपक्षी जो हुन्छ, उसलाई कुनै कार्यान्वयन गराउनु पर्ने आदेश भयो भने तदअनुरुप सम्मानित अदालतले आदेश गर्ने गर्दछ।

प्रत्यार्थी अथवा मुद्दाको विपक्षी नभएकोलाई गर्ने गरेको हुँदैन। त्यसो भएको हुनाले प्रस्तुत मुद्दाहरुमा प्रत्यार्थी नभएको हुनाले आदेश कार्यान्वयनका लागि यस मन्त्रालयमा जानकारी प्राप्त भई पत्राचार हुने अवस्था रहेन। प्रस्तुत मुद्दाहरुमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति ०८०÷१०÷२४ मा भएको आदेशको कार्यान्वयन सम्बन्धित मन्त्रालय तथा निकायहरुबाट भइरहेको व्यहोरा म अनुरोध गर्न चाहन्छु।

नेपाल सरकार गृहमन्त्रालय नेपालको संविधान, नेपालको कानून तथा सम्मानित अदालतका फैसला तथा आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बर्धन गर्न सदैव क्रियाशील रहेको व्यहोरा सादर अनुरोध गर्दछु। र नेपाल सरकारका सम्बन्धित निकायले यसको कार्यान्वयन अगाडि बढाउने विषयमा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद।

सोविता गौतमको प्रश्नः सम्माननीय सभामुख महोदय, काठमाडौं क्षेत्र नम्बर २ अन्तरगत तीनकुनेमा गत चैत १५ गते भएको आन्दोलनका क्रममा भएको क्षतिको क्षतिपूर्ति स्थानीयहरुले कहिले प्राप्त गर्छन? उक्त आन्दोलनमा गोली लागि घाइते भएका व्यक्तिहरुको उपचारको वर्तमान अवस्था के छ? उपचारको क्रममा राज्यको तर्फबाट कस्तो सहयोग प्रदान भइरहेको छ? घाइतका कुरुवाहरुको लागि के व्यवस्था गरिएको छ? साथै घाइतेहरुको समाजमा पुनस्र्थापनाका लागि रोजगारीको सुनिश्चितताका लागि के गरिँदैछ? यसको जानकारी जान्न चाहन्छु। धन्यवाद।

मन्त्री लेखकको जवाफः सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता माननीय सदस्यलाई धन्यवाद छ। सम्माननीय सभामुख महोदय, काठमाडौंको तीनकुनेमा २०८१ साल चैत्र १५ गते भएको घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ। उक्त घटनामा गोली लागि घाइते भएका व्यक्तिमध्ये हाल दुई जना उपचाररत रहेका र बाँकी स्वास्थ्यलाभ गरी घर फर्किसकेको जानकारी म अनुरोध गर्न चाहन्छु।

उक्त घटनाका घाइतेहरुको नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ। र दुई जनाको निःशुल्क उपचार भइराखेको छ। अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुने नै विषय पनि सम्मानित सदनमा अनुरोध गर्न चाहन्छु। र माननीय सदस्यले उहाँहरुको पुनस्र्थापना लगायतका विषयमा जुन जिज्ञासा राख्नु भएको छ यसका लागि म धन्यवाद दिँदै सरकार यसतर्फ गम्भीर छ र आवश्यक कार्यहरु गरिने छन् भन्ने निवदेन गर्न चाहन्छु। धन्यवाद।

गौतमको पुरक प्रश्नः जवाफ त आयो। तर, अलि स्पष्ट भएन कि जस्तो लाग्यो। पुनस्थापना जस्तो सवालमा प्रचलित कानूनमा के छ? अनि कुरुवाका लागि प्रचलित कानून बमोजिम भन्नु भयो।

मन्त्री लेखककोः सम्माननीय सभामुख महोदय, पूरक प्रश्नकर्ता माननीयजीलाई धन्यवाद छ। पूरक प्रश्नकर्ता माननीय सदस्यले जुन गम्भीरता र जुन महत्वकासाथ विषय उठाउनु भएको छ, त्यसका लागि म फेरि पुनः पुनः धेरै धेरै धन्यवाद दिन चाहन्छु। र माननीय सदस्यले उठाउनु भएका विषयहरुलाई मैले गम्भीरतापूर्वक लिएको छु, नेपाल सरकारले गम्भीरतापूर्वक लिएको छ। यहाँको जिज्ञासा अनुसार गर्ने कुरामा हामी अगाडि बढ्ने छौँ। धन्यवाद।  

 

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update