हिमाल दैनिक
नेताहरुको सम्पत्तिमा ‘खोजे अनुसारको प्रतिवेदन’ दिन नसकेपछि विभागबाटै हटाइए महानिर्देशक मैनाली!

सरकारले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कृष्ण प्रसाद मैनालीलाई सुरुवा भएर गएको महिनादिन पुग्न नपाउँदै हटाएर उक्त स्थानमा सहसचिव गजेन्द्र कुमार ठाकुरलाई खटाएको छ। 

वर्तमान सरकारले राजनीतिक दलका नेता तथा पूर्व प्रधानमन्त्री, मन्त्री लगायतको पूर्व पदाधिकारीहरुविरुद्ध सम्पत्ति सुद्धीकरण विभागको माध्यमबाट भ्रष्टाचारको मुद्दा चलाउन बनाएको रणनीतिक योजनामा सारथीको भूमिका निर्वाह गर्न असक्षम र असहमत देखिएपछि महानिर्देशक मैनालीलाई मंगलबार सरुवा गरेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ। 

गत भदौ २३ र २४ गतको जेन–जी आन्दोलन र हिंसात्मक बिद्रोह लगत्तै गठन भएको अन्तरिम सरकारले निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमन्त्री दिपक खड्का तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुको सम्पत्ति छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। 

यसैक्रममा आन्दोलनकारीको आवरणमा भदौ २४ गते ओली, देउवा, दाहाल लगायतका नेताहरुको घरमा तोडफोड, लुटपाट र आगजनी गरिदिएपछि सामाजिक सञ्जालमार्फत नेताहरुको घरबाट ठूलो मात्रामा नगद तथा जिन्सी लुटिनुकासाथै आगजनीमा धनमाल जलेर नष्ट भएको समाचार प्रवाह भएको थियो। 

उक्त घटनाको करिब दुई सातापछि अर्थात असोजको पहिलो सातामात्रै सम्पत्ति सुद्धीकरण विभागले प्रमुख तीन दलका शीर्ष तीन नेतासँगै पूर्वमन्त्री खड्काको तोडफोड र आगजनीमा परि ध्वस्त भएका घरहरुमा अलग अलग अनुसन्धान टोली पठाएर जलेका पैसाका टुक्रासहित सम्पत्ति विवरणको मुचुल्का उठाएर ल्याएको थियो। 

सम्पत्ति सुद्धीकरण विभागले संकलन गरेकोे जलेका पैसाको टुक्रा लगायत अन्य सम्पत्ति विवरणको प्रतिवेदन तयार गर्ने क्रममा सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले महानिर्देशक मैनालीलाई पूर्वप्रधानमन्त्री लगायतका नेताहरुविरुद्ध सम्पत्ति सुद्धीकरणको मुद्दा चलाउन मिल्ने पर्याप्त आधारसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएको स्रोतले बतायो।

तर, २४ गतेको लुटपाट, तोडफोड र आगजनी पश्चात पनि लामो समयसम्म सम्बन्धित नेताहरुका घरमा अनेक अनाधिकृत व्यक्तिहरुको प्रवेश तथा खानतलासीले घटनास्थलको सुरक्षा हुन नसकेको परिस्थितिमा सरकारले खोजेबमोजिमको प्रतिवेदन तयार गर्न उपलब्ध तथ्य र प्रमाणले पुष्टि हुन नसक्ने भन्दै महानिर्देशक मैनालीले असमर्थता जनाएका थिए। 

त्यसका बाबजूद पनि सरकारी नेतृत्वबाट निरन्तर दबाब बढेपछि मैनालीले त्यसको विकल्पका रुपमा बरु आफूलाई विभागको महानिर्देशकबाट हटाइदिन आग्रह गरेपछि मंगलबार सरकारले उनलाई पदबाट हटाएर ठाकुरलाई खटाएको स्रोतको दावी छ। 

यसअघिको सरकारले बागमती प्रदेश सरकारको आथिक मन्त्रालयका सचिवमा रुपमा कार्यरत मैनालीलाई विगतमा उपसचिवको रुपमा कार्यरत रहँदा भए, गरेको अनुभवका आधारमा गत भदौ १९ गते सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो।

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update