हिमाल दैनिक
गभर्नरको सम्भावित उम्मेदवार विश्व पौडेलविरुद्धको रिटमाथि न्यायाधीश प्रधानको इजलासमा सुनुवाई हुँदै

नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिको हल्ला चलेसँगै एकाएक चर्चामा आएका योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका कानून व्यवसायीहरुको दरपीठमा परेको रिटमाथिको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ।

कानून व्यवसायीद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको दफा २१ को योग्यता सम्बन्धी प्रावधानलाई टेकेर पौडेलविरुद्ध अदालतमा केही दिनअघि दायर गरेको रिट निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।

त्यसपछि निवेदकद्वयले उक्त रिट अदालतमा पुनः दर्ता गर्न पुगेपछि सर्वोच्च अदालतले मंगलबार दैनिक पेशीको सूचि निकाल्ने क्रममा न्यायाधीश मल्लको इजलासमा क्रम संख्या झ मा रहेको रिटमाथि आजै अपरान्ह खाजा समयपछि नै सुनुवाई हुने सम्भावना रहेको छ।

अहिले उक्त रिट भन्दा अघिल्लो रिटमाथि सुनुवाई भइरहेको छ।

चैत २५ गतेदेखि रिक्त रहेपनि सरकारको आलटालमा नियुक्तिमा ढिलाई हुँदै आएको गभर्नर पदमा सत्तारुढ दलका शीर्ष नेताहरुबिचको सहमति बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहना बमोजिम पूर्व उपाध्यक्ष पौडेलको सम्भावना बढेर गएको थियो।

त्यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको विषयमा कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत नगरी कानूनलाई चुनौती दिँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही नबोली बसेपछि भट्टको विकल्पमा देउवाले पौडेलको नाम अघि सारेको स्रोतको दाबी छ।

देउवाले गभर्नरका लागि पौडेलको नाम चर्चामा ल्याएलगत्तै त्यसअघि भट्टको विरुद्धमा रिट दायर गर्न पुगेका उप्रेती र थापाले पौडेल पनि गत आम निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित उम्मेदवार भएको भन्दै राजनीतिक व्यक्तिलाई गभर्नर पदमा नियुक्ति दिन नमिल्ने दाबी गर्दै अदालतमा पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update