
राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले राष्ट्रिय राजनीतिमा नै उथलपुथल ल्याउने सम्भावनाबारे मिडियाबाजी भइरहेकै बेला उक्त विषयलाई टुंग्याउने दिशामा सरकार अग्रसर बनेको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीचि विगत डेढ महिनादेखि गभर्नरको विषयलाई लिएर आएको रस्साकस्सीको खेलमा कांग्रेस सभापति शेरबहादुर देउवाको पल्ला भारी हुने सम्भावना बढेपछि प्रधानमन्त्री ओलीले उक्त विषयलाई टुंग्याउन आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
सोमबारको मन्त्रिपरिषद बैठक एकाएक स्थगित गरेर राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गराएका ओलीलाई मंगलबार सभापति देउवाले भेटेर कुराकानी गरेलगत्तै कांग्रेसको प्रस्ताव बमोजिम नयाँ गनर्भरको नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओली तयार बनेका हुन्।
यसका लागि प्रधानमन्त्री ओलीबाट सन्देश पाएलगत्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजेका लागि गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।
गत चैत ११ गते पहिलो पटक ढिलागरी गठन भएको सिफारिस समितिको एउटा पनि बैठक नबसी दुई दुई पटक समितिमा हेरफेर र पुनर्गठन गरेको सरकारले सिफारिस समितिको बैठक पहिलो पटक आज बोलाउने साइत जुराएको हो।
सिफारिस समितिले गरेको सिफारिस बमोजिम अपरान्ह ५ बजे बस्ने मन्त्रिपरिषदको बैठकले कांग्रेसबाट प्रस्तावित गभर्नरका सम्भावित उम्मेदवार विश्व पौडेललाई नै राष्ट्र बैंकको गभर्नर बनाउन सक्ने बलियो सम्भावना रहेको स्रोतको दाबी छ।
पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दर्ताका लागि पुगेको रिटमाथि दरपीठको आदेश पश्चात उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आजै दिने आदेशले पनि पौडेलको नियुक्ति प्रक्रियालाई सहज बनाइदिएको छ।