हिमाल दैनिक
राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

शुक्रबार बैंकका गभर्नर विश्व पौडेलले आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मूलभूत उद्देश्यकासाथ मुलुकको २४औं मौद्रिक नीति सार्वजनिक गरेको बताइएको छ।

नीतिमार्फत खुला बजार कारोबार एवम् ब्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइएको पौडेलले बताए।

आर्थिक वर्ष २०८२-८३ मा ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने उनले जानकारी दिए।

सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने बैंकले जनाएको छ। 

आर्थिक वर्ष २०८२-८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ। 

त्यस्तै व्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको छ। 

नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४ दशमलव ५ प्रतिशत कायम गरिएको गभर्नर पौडेलले जानकारी दिए।

त्यस्तै निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु.२ करोडबाट बढाई रु.३ करोड कायम गरिएको छ। मौद्रिक नीतिको कार्यान्वयनबाट मूल्य तथा बाह्य क्षेत्र स्थिरता र वित्तीय स्थायित्व कायम भई समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन हुने, वित्तीय मध्यस्थता प्रभावकारी हुने, वित्तीय समावेशीकरण बढ्ने विश्वास रहेको गभर्नर पौडेलले बताए।

सरकारको बजेट वक्तव्यमा उल्लिखित सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गरिने बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सघाऊ पु¥याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी सरकारसमक्ष पेस गरिने बैंकको नीतिमा उल्लेख छ। 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update