
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुने भएको छ।
लामो समयसम्म नियुक्तिको विषयलाई लम्ब्याएर चौतर्फी आलोचनाको केन्द्रमा पर्न पुगेको सरकारले गत हप्तामात्रै पौडेललाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न निर्णय गरेलगत्तै अधिवक्ता विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले उनको नियुक्तिको निर्णयमाथि कानूनी प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए।
अदालतले मंगलबार दर्ता गरेको रिटमाथि अदालतले आजका लागि पेश तोकेकोमा दैनिक पेशी तोक्ने क्रममा उक्त रिट न्यायाधीश मुसलमानको इजलासमा परेको थियो।
क्रम संख्या ज मा रहेको उक्त रिटको सम्भवत् आजै सुनुवाई हुने र त्यसबारे के कस्तो आदेश जारी गर्ने भन्नेबारे आजै साँझसम्ममा दिन सक्ने छ।
यसअघि गभर्नर नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिको सदस्य रहेका पौडेलले सत्तारुढ दलबिचको तानातानकाबिच गभर्नर पदमा आफ्नो सम्भावना बढेर गएपछि सिफारिस समितिबाट राजीनामा दिएर नियुक्तिका लागि मैदानमा उत्रिएका थिए।
उनको नियुक्ति पूर्व नै रिट निवेदक कानून व्यवसायीहरुले उनलाई नियुक्ति गर्नबाट सरकारलाई रोक्न परमादेशको माग गर्दै अदालतमा दिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले खारेज गरिदिँदै अदालत प्रशासनले यसअघि गरेको दरपीठलाई सदर गरिदिएको थियो।
त्यसको लगत्तै गभर्नर पदमा नियुक्त भएर पदबहाली समेत गरिसकेका पौडेलको विषयमा कानून व्यवसायीहरुले राष्ट्र बैंक ऐनको दफा २१ को योग्यता सम्बन्धी प्रावधान लगायतका विषयलाई पक्रिएर गभर्नरका लागि उनको योग्यता नै नपुग्ने भन्दै रिट दायर गरेका थिए।
जसमा उनीहरुले नयाँ गभर्नर पहिलो त योग्यताका लागि आवश्यक शैक्षिक योग्यतामाथि प्रश्न उठाएका छन् भने त्यसमाथि उनी गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार रहेको कारण देखाउँदै राजनीतिक दलको कार्यकर्तालाई गभर्नर पदमा नियुक्ति गर्न नमिल्ने जिकिर पनि गरेका छन्।
यसबारे आजको इजलासमा बहस र सुनुवाई भएपछि अदालतले रिट जारी गर्ने अथवा सरकारको नाममा कारण देखाउ आदेश जारी गर्ने वा रिट खारेज के गर्ने भन्नेबारे आफ्नो आदेश बाहिर ल्याउन सक्ने अपेक्षा गरिएको छ।