नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा गर्ने बताए।
मुलुकको आर्थिक गतिविधिलाई चलाउमान बनाउनका लागि सबैसंग समन्वय गरेरै आफु अघि बढ्ने उनले बताए।
पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक बिषय भएको पनि बताए। यसअघि गभर्नरको आकांक्षी बनेका भट्टले नियुक्ति प्रक्रियामा सहभागी हुने अपेक्षासहित कार्यकारी निर्देशकको पदबाट राष्ट्र बैंकको विनियमावली बमोजिम राजीनामा दिएका थिए। वैशाख ५ गते दिएको राजीनामा कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले ऐन, कानून र प्रचलित अभ्यासविपरित दराजमा थन्क्याएर राखिदिँदा भट्ट गभर्नरको लिगलिगे दौडबाट बाहिरिन पुगेका थिए।
पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका थिए।
गत चैत २४ गते निवर्तमान गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँचवर्षे कार्यकाल समाप्तगरी निवृत्त भएपछि रिक्त रहँदै आएको गभर्नर पदमा नियुक्तिका लागि सरकारमा सहभागी प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच कुरा नमिल्दा नियुक्तिको वातावरण बन्न सकिरहेको थिएन।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको सहमति बमोजिम कांग्रेसको भागमा परेको गभर्नर पदमा सरकारका प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले नियुक्तिका लागि तत्परता नदेखाएपनि उक्त विषयले सरकारको जग नै हल्लाउने खतरा बढ्दै गएको थियो।
तर, देउवा र ओलीबिच मंगलबार बिहान भएको भेटवार्ता पश्चात अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले तत्काल बैठक डाकेर गभर्नर पदका लागि पौडेल, कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। जसलाई मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले छलफलको प्रक्रियामा लग्दै पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेल गत आम निर्वाचनका कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए।
त्यसअघि पौडेलको नाम चर्चामा आएकै भरमा प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा उनको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गर्न कोशिश गरेपनि अदालत प्रशासनले उक्त निवदेन दरपीठ गरिदिएको थियो। जसलाई अदालती प्रबन्ध अनुसार, रिट दायर गर्ने वा नगर्ने भन्नेबारे मंगलबार नै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासमा प्रारम्भिक सुनुवाई पश्चात अदालत प्रशासनको दरपीठको आदेश सदर गरिदिएपछि पौडेललार्इृ गभर्नर नियुक्त गर्न बाटो खुल्ला भएको थियो।
यसका बाबजूद पनि नेपाल राष्ट्र बैंक ऐनको योग्यता सम्बन्धी बुँदालाई आधार बनाएर उनीविरुद्ध कुनै पनि बेला अदालतमा रिट दायर हुन सक्ने सम्भावना भने टरिसकेको छैन।