गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलोपटक नेकपा (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाएको छ।
गणतन्त्र दिवसका अवसरमा एमालेले विभिन्न स्थानबाट विभिन्न जात, जाति, भाषा, धर्म, क्षेत्र, संस्कृति झल्किने आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्यालीको आयोजना गरेको हो।
भृकुटीमण्डपबाट सुरु भएको र्याली बिभिन्न स्थान हुदै रत्नपार्क पुगेर समापन भएको थियो। गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रुपमा काठमाडौं लगाएत देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
प्रतिक्रियाबादी तत्वहरुले गणतन्त्रलाई चुनाति दिन खोजेका बेला एमालेले उत्सवका रुपमा मनाएको भन्दै उनले यसलाई कव्जाको भाषाका रुपमा नबुझ्न आग्रह गरे।
यसअघि राजतन्त्र र हिन्दुराज्यको स्थापनाको माग अघिसार्दै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक र पूर्वपञ्च लगायतका शक्तिहरुले गणतान्त्रिक शासन व्यवस्था उल्ट्याएर राजतन्त्र स्थापनाको लागि आजैदेखि निर्णायक आन्दोलन सुरु गर्ने घोषणासहितका कार्यक्रम अघि सारेका थिए।
त्यसबाट आक्रोसित बनेका नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ललितपुरमा आयोजित पार्टी कार्यक्रममा जेठ १५ गते राजावादीहरुको आन्दोलनलाई विफल बनाउन उनीहरुले भन्दा अगाडि बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।
यसरी देशकै प्रधानमन्त्रीले पार्टीको नियन्त्रणमा राख्न भनि दिएको निर्देशनप्रति चौतर्फी आलोचना र टिप्पणी सुरु भएपछि त्यसलाई कब्जाको रुपमा नहेर्न एमालेले भन्दैआएको छ।
र्यालीका क्रममा ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, लगाएतका नारा लगाइएको थियो।
स्थानीय प्रशासनसँगको सहमति बमोजिम एमालेले आफ्नो कार्यक्रम समापन गरेलगत्तै अहिले पूर्व राजावादीहरुले काठमाडौंमा सडक प्रदर्शन सुरु गरेका छन्।