निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनूमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।
सवारी ऐन विपरीत र संघीय सरकारको नीतिसंग बाझिने गरी सातै प्रदेश सरकारहरुले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनूमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाधेर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्ने लगाएतका माग अघि सारेका छन्।
सवारी ऐन २०४९ को विपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्र्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीहरुको आरोप छ।
नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वारले सोमबारदेखि सार्वजनिक सवारी साधन थन्काएर देशव्यापी आन्दोलन गर्ने जानकारी दिए।
आफुहरुको माग पुरा नभएसम्म सार्वजनिक सवारीसाधान सञ्चालन नगर्ने उनले बताए।
प्रदेश सरकारहरुले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको व्यवसायीहरुको भनाइ छ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नीति अघि सारेपछि गण्डकी प्रदेशमा विशेषगरी पोखरामा यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधान संचालन नगर्दा ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका थिए।
यात्रुहरुको मर्कालाई ध्यान दिँदै सरकारले पोखरामा रहेका यात्रुहरुलाई सुरक्षाकर्मीको स्कटिङमा आइतबार उनीहरुको गन्तव्यसम्म जाने व्यवस्था मिलाएको छ।