हिमाल दैनिक
एमाले नेताहरुको नेतृत्व गर्दै चीन भ्रमण गरेकी पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
file photo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको १० दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन्।

एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्यान्डिङ सस्थाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी सोमबार बिहान नेपाल फकिएकी हुन्।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन्।

मित्रराष्ट्र चीनको १० दिने भ्रमण समग्ररुपमा सफल रहेको भ्रमण टोलीमा सहभागी भएर फर्किएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए।

नेपाल र चीनको पुरानो सम्वन्ध, लामो समयदेखीको मित्रतालाइ अझै सुदृढ गर्ने, दुइ देश विचका साझदारी, सम्झौताहरुलाइ पुर्नजागृत गर्ने सदभाव भ्रमणको रुपमा रहेको मन्त्री भण्डारीले बताए।

छलफलका क्रममा चिनिया पक्षबाट सहमतीलाइ कार्यान्वयन गर्ने खालको प्रतिबद्धता ब्यक्त भएको मन्त्री भण्डारीले जानकारी दिए।

चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्याडिङ सस्थाद्धारा आयोजित कार्यक्रममा ६० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नेपालका तर्फबाट पूर्व राष्ट्रपति विद्या भण्डारीले नेतृत्व भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायतको सहभागिता थियो।  

संविधान सभाबाट नेपालको संविधान जारी भएलगत्तै २०७२ असोजमा मुलुकको पहिलो महिला राष्ट्रपति बन्दै त्यसपछि सम्पन्न पहिलो आम निर्वाचन पश्चात पनि पुनः राष्ट्रपति बन्दै ०७९ फागुनबाट पदमुक्त भएर बसेकी भण्डारी त्यसपछिका दिनमा विस्तारै पार्टी राजनीतिमा सक्रिय बन्दै गएकी थिइन्।

उनको सक्रियतालाई लिएर स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बेलाबखतमा पार्टीभित्र र बाहिर असन्तुष्टि व्यक्त गर्दैआएपनि पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई एमालेभित्रैको एउटापंक्तिदेखि बाहिर छरिएर रहेका कम्युनिष्ट घटकहरुका लागि उनको नेतृत्वमा कम्युनिष्ट एकताको बलियो सम्भावनाका रुपमा लिँदैआएका थिए।

जसलाई पछिल्लो समय चीन भ्रमणका क्रममा उनले पूर्वराष्ट्रपतिको भन्दा ज्यादा आफ्नो पुरानै दलीय अबद्धताका आधारमा एमाले पूर्वउपाध्यक्षका हैैसियतमा क्रियाशील बन्न खोजेको टिप्पणी बाहिर आउन थालेको छ। 

विशेषगरी भण्डारीसँगको भेटवार्ताका क्रममा चिनिया पक्षले नेपालका कम्युनिष्ट शक्तिहरुबिचको बलियो एकताका लागि उनको भूमिकालाई प्राथमिकतामा राखेर अनौपचारिक छलफल चलेको सन्दर्भसँगै उनीको भ्रमण दलमा सहभागी एमाले नेताहरुको लर्कोले पनि भण्डारीको चीन भ्रमणलाई पूर्वराष्ट्राध्यक्षको भन्दा पूर्व उपाध्यक्षकै हैसियतले गराइएको चर्चा चलिरहेको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update