हिमाल दैनिक
देउवा भन्छन्ः कहाँ छ राजावादीहरुको आन्दोलन? गइसक्यो, तुहिइसक्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरुको आन्दोलन तुहिसकेको भन्दै त्यसको कुनै अर्थ नभएको दाबी गरेका छन्।

बिहिबार जनकपुरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका सभापति देउवाले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा त्यस्तो अभिव्यक्ति दिएका हुन्।

राजावादीहरुको आन्दोलनको विषयमा सोधेको प्रश्नको जवाफमा देउवाले भने, ‘कहाँ छ राजावादीहरु? गइसक्यो, तुहिइसक्यो,’ भन्दै उनीहरुको आन्दोलनको कुनै औचित्य नभएको बताए।

त्यसैेगरी देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको दाबी पनि गरे।

सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको भन्दै सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने पनि बताए।

त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको जानकारी दिए।

मुलुकमा व्याप्त राजनीतिक अस्थिरता र आर्थिक संकटको सामना गर्न दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरी देश र जनताका चाहना बमोजिम काम गर्न संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको दाबी पनि गरे।

 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update