मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ।
सोमबार मधेश प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष ०८३÷८४ का लागि ४१ अर्ब भन्दा माथिको बजेट प्रस्तुत गरेका हुन्।
कुल बिनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५ दशमलव ५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४ दशमलव ३६ प्रतिशत रहेको भट्टराईले बताए।
उनले बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री भट्टराईले बताए।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यहोरिने उनले बताए।
उल्लेखित स्रोतहरुबाट खर्च व्यहोर्नेगरी न्यून रहेको १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको मन्त्री भट्टराईले जानकारी दिए।
उनले मेड इन मधेश, समृद्ध प्रदेशको साझा संकल्पलाई साकार पार्न आर्थिक बर्षमा उत्पादन र रोजगारी बृद्धि, मानव विकास र सामाजिक न्याय, दिगो पूर्वाधार र वातावरणीय सन्तुलन तथा सुशासन र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिइने धारणा राखेका थिए।
त्यस्तै बिगतको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गर्दै शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश संकल्पका साथ मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइने मन्त्री भट्टराईले बताए।



