हिमाल दैनिक
केपी ओलीलाई विद्या भण्डारीको चुनौतीः देश घुम्न कसैको अनुमति चाहिँदैन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सर्वशक्तिमान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौतीको भाषामा जवाफ फर्काउँदै पार्टी राजनीतिमा फर्किएर परिआएको खण्डमा उनैसँगै पौँठेजरी खेल्न पनि तयार भएको सन्देश दिएकी छन्।

संवैधानिक तथा आलंकारिक राष्ट्रपतिबाट विदा भएसँगै पुनः पार्टी राजनीतिमै फर्किने गृहकार्यमा व्यस्त बन्दैआएकी भण्डारीले मंगलबार विराटनगरमा संचारकर्मीहरुसँगको कुराकानीमा आफूलाई देश घुम्न र कार्यकर्ता भेट्न कसैको अनुमति लिनु नपर्ने जवाफ फर्काएकी हुन्।

अन्तर्राष्ट्रिय रुपमा स्थापित अभ्यास, परम्परा र मान्यता अनुसार, कुनै पनि लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकको संवैधानिक राष्ट्राध्यक्ष पुनः दलगत राजनीतिमा फर्किने परम्परा विरलै छ। सोही मान्यताकै आधारमा नेपालको संविधानमा पनि राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएर पद तथा गोपनीयताको सपथ लिएसँगै निजको राजनीतिक दलीय आबद्धतासँगै सदस्यता पनि स्वतः समाप्त हुने व्यवस्था गरिएको छ। 

तर, नेपालको राष्ट्रपति पदमा दुई पटक निर्वाचित भई सात वर्ष ज्यादा समय विताएर फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले भने आफूलाई पछिल्लो समय पूर्वराष्ट्राध्यक्ष कम पूर्व एमाले उपाध्यक्षको पदीय भूमिका र मर्यादामा ज्यादा जोड दिँदै अध्यक्ष ओलीविरुद्ध पौँठेजोरी खेल्न परेछ भने पनि तयार भएर बसेको सन्देश दिएकी छन्।  

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै सोधिएको प्रश्नको जवाफमा भण्डारीले भनिन्, ‘म देशभित्र घुम्न, कार्यकर्ताहरुसँग घुलमिल गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन।’

आगामी महाधिवेशनमा ओलीलाई चुनौती दिँदै नेतृत्व लिने तयारीमा रहेको भन्ने विभिन्न समाचार र विश्लेषणलाई आधार बनाएर केही दिन अघि अध्यक्ष ओलीले पार्टीमा कोही मान्छे पुनः आउँदैछ भनेर भ्रम फैलाइँदैछ भन्दै भण्डारीको पार्टीभित्रको पुनरागमनप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

सोही सवालमा जवाफ दिने क्रममा भण्डारीले कतिपय व्यक्तिले पार्टी बदल्ने गरेपनि आफू एक पटक नाता जोडिएपछि त्यो नाता, सम्बन्धमा अडिग रहने बताइन्। 

‘हुनत प्रायः मान्छेहरु पार्टी बदल्ने पनि गर्दछन्, होइन, त्यो बेग्लै कुरा हो। तर, म चाहीँ त्यस्तो व्यक्ति परेँ कि, जुन बेला मेरो सारा, जहाँ जन्मियो, हुर्कियो त्यो मेरो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु। तपाइहरुले हेर्नु भयो, बुझ्नु भयो भने, हिँजोदेखि नै वामपन्थी आन्दोलनमा लागियो। र त्यसको पनि एउटा खास धार, एउटा संगठनमा हामी आयौँ। र अहिलेसम्म नै म राष्ट्रपति हुँदाखेरिपनि नेकपा एमालेले प्रस्ताव गरेर अरु वामपन्थी र अरु केही क्षेत्रिय पार्टीहरुले समेत समर्थन गरेर म देशको राष्ट्रपति भएको हो,’ उनले भनिन्।

पार्टी राजनीतिमा फर्किने स्पष्ट सन्देश दिँदै उनले थपिन्, ‘अब विद्या भण्डारी पार्टीगत राजनीतिमा आउँदा के हुन्छ? कहाँ जानुहोला भन्ने प्रश्न होला। यसो हेर्दाखेरि त पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्मिए, हुर्किएँ र यो स्थानमा पुगेँ अब त्यो भन्दा फरक त सोच्न सकिने कुरो भएन।’

एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष ओलीसँगै उपाध्यक्षमा निर्वाचित भएकी भण्डारीले आफ्नो आगत र विगतलाई निरन्तरता दिनेगरी उनले अध्यक्ष ओलीले आफूलाई नै लक्षित गरेरै भनेजस्तो आफूलाई नलागेको भन्दै ओलीसँगको तिक्तता नबढ्नेगरी आफ्नो विमति जनाइन्।

उनले भनिन्, ‘होइन, अब त्यो विषयमा त अहिलेको नेकपा एमालेको वर्तमान अध्यक्षज्यू केपी शर्मा ओलीज्यूले मलाई नै तोकेरै, ताकेरैँ भन्नु भयो होला भन्ने चाहीँ मलाई लाग्दैन।’

विगतमा पार्टीभित्र गटगत प्रतिस्पर्धा हुँदैगर्दा ओलीकै नेतृत्वमा रहेको गुटबाट पदीय जिम्मेवारीमा स्थापित भण्डारीले आफूले पार्टीभित्र मूलधारकै राजनीतिमा सक्रिय भएपनि गटगत राजनीति नगरेको दाबी समेत गरिन्।

आफ्नो पुनरागमनले पार्टीभित्र कतिपयलाई नपचेको हुनसक्ने सम्भावनातर्फ लक्षित गर्दै उनले भनिन्, ‘अब पार्टीमा त्यसरी सक्रिय राजनीतिमा आउँदाखेरि अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरुलाई पनि त केही मनमा प्रश्नहरु उठाएको हुन सक्दछ नि त। होइन? अब त्यसलाई भनेको हो कि? र मलाई के लाग्दछ भने, हाम्रो नेकपा एमालेको आदरणीय अध्यक्षज्यूले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर यो धारणाहरु व्यक्त गरिरहनु भएको छ भन्ने मलाई पटक्कै लाग्दैन।’

आगामी अधिवेशनमा अध्यक्ष पदका लागि प्रत्यासी बन्ने सोझो स्पष्ट अभिव्यक्ति दिएकी भण्डारीले थप्दै भनिन्, ‘होइन, उहाँले भनेको के हुनसक्दछ भने, मेरो मैले विश्लेषण गर्दाखेरि महाधिवेशन आउँछ। महाधिवेशनमा नेतृत्व निर्माण हुन्छ होइन। त्यसो हुँदाखेरि तिमिहरु चिन्ता नगरे, हामी मिलाएर गर्छौँ भनेर कार्यकर्तालाई आश्वस्त गर्न खोजनु भएको हुन सक्दछ।’

संविधानले राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पार्टी सदस्यता समेत नरहने व्यवस्था गरेपनि भण्डारीको मन र मुटु एमालेमै रहेको पनि बताएन्। उनले थप्दै भनिन्, ‘देशको राष्ट्रपति भइसकेको मान्छे, होइन, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले अब संगठित सदस्यता लिनु भन्दा अगाडिदेखि नै म पार्टीमा काम गरेको। अब चिनजान ठूलै छ। समाजका अरुअरु क्षेत्रहरुको पनि चिनजान हुन्छ। अब देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वभाविकै हुन्छ होइन। त्यसो हुँदाखेरि अब मैले पनि समाजसँग साक्षतकार त गर्दै गर्नु पर्यो। भेटघाट गर्दै गर्नु पर्यो। के छ, जनताको विचार, आकाक्षाहरु, नयाँ पुस्ता के चाहनछ? त्यसलाई पूरा गर्न मैले सुरुमै भने कि राष्ट्रिय आकांक्षालाई साकार बनाउनका लागि हामी लाग्नु पदृछ। हाम्रो त्यो परम कर्तव्य हो। बाचुञ्जेल हामीले संघर्ष गर्नु पर्छ, नयाँ पुस्ताको लागि र देशको लागि। त्यस हिसाबले म देशभित्र घुलमिल गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन।’

 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update