हिमाल दैनिक
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदिप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

चर्चित महानगरपालिका प्रमुख बालेन शाहले रुचाएका सरकारी कर्मचारीको सूचिमा सम्भवत् माथिल्लो क्रममा पर्ने कलिलै उमेरमा सहसचिव पदमा पुग्न सफल परियारसहित सात जनाविरुद्ध अख्तियारले बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले सार्वजनिक गरेको चार्जसिटमा उल्लेख गरिएको जानकारी अनुसार, महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तरगत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरीमाथिको अनुसन्धान पश्चात तत्कालीन प्रशासकीय प्रमुख परियारसहित महानगरपालिकाका कर्मचारी रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार विगो तथा कानून बमोजिमको दण्ड सजायको माग गर्दै मुद्दा दायर गरेको हो।

परियार हाल सूचना तथा प्रसारण विभागको महानिर्देशकको रुपमा कार्यरत छन्।

संवैधानिक इजलासले चार वर्षअघि नियुक्ति पाएका ५२ जना विभिन्न संवैधानिक निकायका पदाकारीमाथिको सुनुवाई अन्तिम चरणमा लग्दै गर्दा अख्तियारले आफ्नो गतिविधिलाई अनपेक्षित ढंगले तिब्र बनाउँदै आएको छ। 

केही समयअघि टेरामोक्स काण्डमा पूर्व मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेर ठूला माछालाई समात्न थालेको सन्देश दिएको अख्तियारले गत हप्तामात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्रीहरुविरुद्ध पतञ्जलीको जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 
   

प्रकाशित मिति: बुधबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update