नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
सोमबार काठमाडौं उपचारका क्रममा निधनुभएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।
पार्टी कार्यालयमा सभापति देउवा लगाएत नेता, कार्यकर्ता, शुभेच्छुक लगाएतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमबार निधन भएको थियो।
कांग्रेस सभापति देउवाले मुलुकको परिवर्तनमा स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको महत्वपूर्ण योगदान रहेको बताए।
विशेषगरी नेपालमा शताब्दीऔँदेखि चलिआएको केन्द्रिकृत शासन व्यवस्थालाई जनताको घरदैलौसम्म पुर्याउने अधिकारको बाँडफााटको दरिलो आधार संघीयताको अवधारण नेता शास्त्रीले कांग्रेसभित्र आज भन्दा तीन दशक पहिले नै अघि सारेका थिए।
कांग्रेस नेताहरुका अनुसार, शास्त्रीले नेपालमा बहुदलीय संसदीय प्रजातन्त्रको स्थापना लगत्तै आफ्नो पुस्तकमार्फत तत्कालीन शासन व्यवस्थामा कायम रहेको पाँच विकास क्षेत्रलाई नै प्रादेशिक अवधारणामा लैजान पाँच विकास क्षेत्रमा विकास क्षेत्रस्तरिय संसद र केन्द्रमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको व्यवस्था हुनु पर्छ भनि प्रस्ताव अघिसारेका थिए।
तर, तत्कालीन अवस्थामा उनको प्रस्तावबारे खासै चर्चा र बहसले स्थान नपाएपनि दोस्रो जनआन्दोलन पश्चात संघीयताको विषयले चर्चा र महत्वसँगै त्यसको व्यवहारिक कार्यान्वयन समेत भयो। तथापि संघीयताको अवधारणा अघि सार्ने नेताको नाममा शास्त्रीलाई बिर्सिएको कांग्रेसले उनको निधनपश्चात भने कम्तिमा सम्झिन पुग्नु आफैँमा शास्त्रीका लागि सम्झनाको नयाँ आधार बन्न पुगेको छ।
यसबारे सभापति देउवाले श्रद्धाञ्जली सभामा संक्षिप्त प्रतिक्रिया दिने क्रममा शास्त्री एक समाजावादी चिन्तक मात्र नभई नेपालको विकास निर्माणको अवधारणामा परिवर्तन ल्याउन नेपाललाई संघीयताको अवधारणामा जानेगरी बहसको सुरुवात गर्ने व्यक्ति नै शास्त्री भएको बताए।
यसैबीच बुधबार कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
त्यस्तै बैठकले असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ।
अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मनु भएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।