पछिल्लो पटक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर सदनको नियमित अधिवेशनहरु चल्न थालेको पनि यो छैटौं पटक भइसक्यो।
जसको पहिलो अधिवेशनको सुरुवात अर्थात ०७९ माघमा प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित भएपश्चात सदनको हरेक बैठकको संचालन र अन्त्य नियमिति रुपमा हुँदै पनि आएको छ।
तर, यतिका समयबितिसक्दा पनि सभामुख घिमिरे भने अझै पनि सदनको कारबाही सूचारु गर्न र सदनमा सभामुखको पदीय भूमिका निर्वाह गर्दा अझै पनि नयाँ नयाँ सदस्यले जस्तो अलमलमा पर्न छाडेका छैनन्।
हुनत, यसअघिका अधिवेशन र बैठकहरुमा पनि सभामुख घिमिरेले बेलाबेलामा सदनको कारबाही संचालन गर्ने क्रममा अलमन र गज्याङगुजुङ पार्दै नआएका भने होइनन्।
तर, पनि अनुभवले यतिका समय हुँदा पनि उनमा सभामुखको आत्मबल बढेको होइन कि भन्न भान परिरहेको छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पनि घिमिरेको प्रस्तुती अलमलमै अघि बढ्यो।
पूर्वनिर्धारित कार्यसूचि अनुसार, प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोेत्तरको कार्यक्रम चल्दै आएकोमा आजका लागि कार्यसूचिमा प्रश्नोत्तरको समय राखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि तयारीकासाथ बैठकमा उपस्थित थिए।
त्यसका बाजबुद भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरुले सदनमा अवरोध कायम गर्दैआएजस्तै आज पनि सदनको कारबाही सुरु हुनासाथ उठेर बोल्न समय मागिरहे।
तर, सभामुख घिमिरेले उनीहरुलाई बसेर सदनको वातावरण शान्त र मर्यादित बनाउन पटक पटक आग्रह गरिरहे।
त्यसका बाबजूद विपक्षी दलका सदस्यहरुले उभिएर होहल्ला गर्दै विरोध कायमै राखेपछि उनीहरुलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरुको निरन्तर विरोध, असहयोग र यहाँको वातावरण उचित ढंगको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दाखेरि कार्यसूचिबाट हटाएको व्यहोरा जानकारी गराउँदछु।’
यसरी सदनभित्र नाराबाजी र विरोध कायम रहेको भन्दै प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम हटाएको जानकारी गराएलगत्तै सभामुखले केही समय रोकिँदै फेरि सदस्यहरुलाई बस्न भने।
त्यसका बाबजूद पनि सदनभित्र विपक्षी सदस्यहरुले होहल्ला कायमै राखेपछि सभामुख घिमिरेले फेरि भने, ‘म आज माथिबाट निर्देशन भएको कुरा पालनाका लागि विशेष ध्यानाकर्षण गराउँदछु’ भन्दै थपे, ‘अब प्रतिनिधि सभा नियमावली ०७९ को परिक्षेद ९ बमोजिम प्रधानमन्त्रीसँग...’ (अनकनाउँदै पाना पल्टाउँदै केही बेर अलमल गर्दै) सभामुखले फेरि भने, ‘माननीय सदस्यहरु विनियोजन विधेयक २०८२ को अन्तरगत आजका लागि निर्धारित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, यसको उपनियम खण्ड क, ख र ग बमोजिम खर्च कटौतिको प्रस्ताव प्राप्त हुन आएको जानकारी गराउँछु।’