हिमाल दैनिक
७२ जिल्लालाई लिजमा दिने अमरेशको अराजक अभिव्यक्तिको प्रतिवाद गर्दा संसदमा होहल्ला

स्वतन्त्र सांसद अमेरशकुमार सिंहले बजेटमा बिभेद गरिएको जिल्लालाई लिज चलाउन विदेशीलाई दिउँ भनेपछि प्रतिनिधि सभामा होहल्ला भएको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा विभिन्न मन्त्रालय अन्तरगतको बजेटमा खर्च कटौतीको प्रस्ताव राख्न सभामुख देवराज घिमिरेले समय दिएपछि रोष्ट्रममा पुगेका सांसद सिंहले बजेटको प्राथमिकतामा पर्ने गरेका चार–पााच वटा मात्रै भाग्यमानी जिल्लाबाहेक बाँकी जिल्लालाई अर्को कुनै दशलाई लिजमा दिउँ भन्दै आपत्तिजनक अभिव्यक्ति दिए।

उनले भने, ‘एउटा कुरा म भन्न चाहन्छु, कि नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो चार, पाँच जिल्ला जुन भाग्यमानी जिल्लाहरु छन् त्यसलाई नेपालमा राखौँ, बाँकी ७७ जिल्लाको ७२ जिल्लालाई लिजमा दिउँ अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने?’

उनले आजको छलफलका क्रममा रहेको शहरी विकास मन्त्रालयको बजेटबारे धारणा राख्नुपूर्व बजेटबारे प्रधानमन्त्री, मन्त्री र मन्त्री बनाइदिने नेता खुशी भए हुने भन्दै कटाक्ष गरे।

यसैगरी उनले शहरी विकास मन्त्रालयले काठमाडौंमा तीन करोडको दरले १३१ योजना राखेपनि आफ्नो जिल्ला सर्लाहीमा कुनै बजेट नराखेको भन्दै आक्रोस व्यक्त गरे।

त्यहिबिचमा सत्तारुढ नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ती गर्दै उठेपछि सभामुख घिमिरेले सिंहलाई रोक्दै बर्तौलालाई के विषयमा नियमापत्ति हो भनि प्रश्न गरे।

एमाले प्रमुख सचेतक महेश बतौलाले नियमावलीको नियम २६ बमोजिम नियम २०, २१ र २३ अनुसार नियमापत्ति रहेको बताए।

उनले विनियोजन शिर्षकमाथिको छलफलका क्रममा सांसद सिंहले देशलाई कहिँ कतै अमेरिका लगायतका देशमा गाभिदिउँ भनेर संसदको रोष्ट्रमबाट आपत्तिजनक अभिव्यक्ति दिने भन्दैगर्दा रोष्ट्रमबाट सच्याउँदै भने, ‘गाभिदिने होइन, लिजमा दिने भनेर भन्या छु,’ भन्दै प्रतिवाद गरे।

बर्तौलाले सिंहको अभिव्यक्ति राष्ट्रघाति र देशद्रोही अभिव्यक्ति हो भन्दै यो नियमापत्तिको विषय मात्र नभएको भन्दै कारबाहीको माग गरे।

बर्तौलाले सिंहको अभिव्यक्ति रेकर्डबाट हटाउने मात्र होइन, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाभिमानको विरुद्धमा भएको भन्दै उनलाई बोल्न नदिन र कारबाही गर्न माग गरे।

उनले विगतमा पनि विवादस्पद अभिव्यक्ति दिँदै आएको भन्दै उनीमाथि अविलम्ब कारबाही स्वरुप बोल्न रोक्न माग गरेपछि सत्तापक्षका अन्य सदस्यहरुले उभिएर सिंहको विरोध गरे।

त्यसपछि सभामुख घिमिरेले रुलिङ गर्दै सांसद सिंहले पाँचवटा जिल्ला बाहेक अरु जिल्लालाई विदेशी मुलुकको नाम लिएर उनीहरुलाई दिए हुन्छ भनेको भन्दै उक्त अभिव्यक्ति असंसदीय धारणा भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए।

सभामुखसँग प्रतिवाद गर्दै सिंहले सभामुखले सदनको साझा नेतृत्व भन्दा एमालेको सभामुख बनेर दिएको निर्देशन आफूले नमान्ने भन्दै प्रतिवाद गरे।

सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिएका थिए।

त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाउँदै रास्वापा र साना दलदेखि स्वतन्त्र सांसदलाई अन्याय गरिरहेको भन्दै सत्तापक्षका सदस्यहरुसँग प्रतिवाद गरिरहे। निर्धारित विषयमा बोल्न नबोल्ने भए रोष्ट्रम छाडेर जान भन्दा पनि उनले अटेर गर्दै आफूले पाएको समय ७ मिनेटसम्म त्यही बसिरहने भन्दै रोष्ट्रममा उभिएर कराइरहे।

सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उनले रोष्टमबाट फकिएएका थिए।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update