नेपाली कांग्रेसको पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठकको मिति फेरि परिवर्तन भएको छ।
यसअघि पार्टीले असार १५ गते अपरान्ह १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक तय गर्दै सार्वजनिक सूचनामार्फत सम्बन्धित पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई बैठकमा उपस्थिति हुन भनेकोमा सोमबार अर्को सूचना प्रकाशित गर्दै कांग्रेसले मिति हेरफेर गरेको हो।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै असार १५ गतेका लागि तय गरिएको बैठक विशेष कारणबस असार १६ गते अपरान्ह १ बजेका लागि सारिएको बताएका छन्।
गत वर्षको साउन २३ गतेदेखि सुरु भएर भदौ १६ गते विभिन्न निर्णय गर्दै टुंगिएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक त्यसयता एक पटक बैठकको मिति तय गरेपनि बस्न सकिरहेको थिएन।
यसरी विधानत प्रत्येक दुई महिनाको अन्तरालमा केन्द्रीय कार्यसमिति बैठक बस्ने व्यवस्था गरिएको भएपनि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठक बेलाबेलामा र कार्य सम्पादन समितिको बैठक आक्कलझुक्ल बस्दै पार्टीका विविध निर्णय गर्ने परिपार्टीमा चल्दैआएको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार १५ गते तोक्दैगर्दा पार्टी पदाधिकारी र केन्द्रीय कार्यालयका कर्मचारीहरुले नेतृत्वलाई सही सल्लाह र सूचना दिन नसकेको भने प्रष्ट देखिन्छ।
अर्थात असार १५ गतेलाई नेपाल सरकारदेखि राजनीतिक दलदेखि सर्वसाधारण समेतले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएकोमा उक्त दिन धान दिवसको ख्यालै नगरी कांग्रेसको बैठक बोलाइएको थियो।
जसबारे सभापति शेरबहादुर देउवाले सूचना जारी भएपछि मात्रै जानकारी पाएपछि बैठकको मिति बदल्न लगाएका हुन्।