नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गर्दै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्ने क्रममा दाहालले ठूला दुई दल मिलेर संख्याको बलमा संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाएका हुन्।
यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको भन्दै दाहालले वर्तमान सरकारका कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना समेत गरे।
उनले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न अघि सारे।
सरकारका गतिविधिबाट आमजनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको उनले बताए।
दाहालले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको उल्लेख गर्दै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको आरोप लगाए।
अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको उनले बताए।
उनले सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरुजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप पनि लगाए।
त्यस्तै दाहालले कांग्रेसले समेत जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गरे।
उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे।
दाहालले गणतन्त्रमाथि कतैबाट खतरा छ भने राजवादी वा कसैबाट भन्दा पनि बढि सरकारबाटै खतरा रहेको टिप्पणी गरे।
अघिल्लो वर्ष एमाले र कांग्रेसबिच भएको सहमतिमध्ये संविधान संशोधनको विषय वास्तविकतामा संशोधनका लागि नभई जनतालाई भ्रममा पार्नका लागि मात्रै गरिएको आरोप समेत उनले लगाए।
अग्रगामी संविधान संशोधन गर्न दुईतिहाई बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी लिन तयार रहेको सन्देश दिए।
संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै दाहालले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे।