नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव छलफलका लागि पेश भएको छ।
पार्टी कार्यालय च्यासलमा शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेको जानकारी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिए।
संशोधित विधानमा १९ सदस्यीय पदाधिकारीलाई घटाएर १५ जनामा झार्न प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ भने केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने प्रस्ताव अघि सारिएको गौतमले बताए।
त्यस्तै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ।
यसअघि पार्टीको विधानमा नेतृत्व तहमा रहनका लागि ७० वर्ष उमेर हदसँगै अध्यक्षको कार्यकाल दुई वर्षका लागि तोकिएको थियो। तर, पछिल्लो समय एमाले अध्यक्ष ओलीको उमेर हदसँगै पार्टी नेतृत्वलाई निरन्तरता दिन विधानको दुई कार्यकालको व्यवस्थाले अवरोध श्रजना गरेपछि विधानको उक्त प्रावधान पनि संशोधन गर्न लागिएको हो।
विधान संशोधन प्रस्तावमाथि किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
त्यस्तै बैठकमा सदस्यहरुले उमेर हद र कार्यकाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय हुने निर्णय लगाएतका बिषयमा धारणा राखेको उनले बताए।
एमाले उपाध्यक्ष पद छाडेर दुई कार्यकालका लागि राष्ट्रपति बनेर बाहिरिएकी भण्डारी पछिल्लो समय एमाले पार्टीको सदस्यता पुनः नविकरण गर्दै सक्रिय राजनीतिमा लाग्नुकासाथै आगामी दिनमा पार्टी अध्यक्ष बन्ने तयारीमा लागिपरेकी छन्। जसलाई स्वयं अध्यक्ष ओलीदेखि कतिपय संविधानविदहरुले पनि राष्ट्रपतिको पदीय मर्यादा कायम गराउन पनि उनी सक्रिय राजनीतिमा फर्किन नहुने तर्क गर्दैआइरहेका छन्।
पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका बिषयमा गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
पूर्वराष्ट्रपति भण्डारीका बिषयमा ओलीले देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर बिषय भएकाले यसमा पार्टीले उचित निर्णय गर्ने समेत बताएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
पोलिटब्युरो बैठक शनिबार बिहान ११ बजे पुन बस्ने एमालेले जनाएको छ।