नेपाली कांग्रेसले रुपन्देही ३ को उपनिर्वाचनको वस्तुस्थितिबारे छलफल गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा रुपन्देही ३ को उपनिर्वाचनको अवस्थाकाबारेमा गहन रुपमा छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
गएको निर्वाचनमा पनि समानुपातिक मतका हिसावले कांग्रेस पहिलो पार्टी भएपछि अहिलेको अवस्था बिश्लेषण गर्न गाह्रो रहेको उनले बताए।
उनले रुपन्देही ३ को उपनिर्वाचन उम्मेद्वार चयन र गठबन्धनको सम्भावनाका बारेमा कुनै छलफल भने नभएको जानकारी दिए।
बैठकमा पार्टी रुपन्देहीको वस्तुस्थितिबारे अध्ययन गरी फर्किएका महामन्त्री विश्वप्रकाश शर्माले त्यहाँेको पार्टी संगठन र सम्भावित उम्मेदवारको जनाधारबारे नेताहरुलाई जानकारी दिएको एक नेताले बताए।
त्यस्तै बैठकमा हालै संघीय संसदबाट संशोधनसहित पारित गरी प्रमाणीकरणका लागि पठाइएको संवैधानिक परिषद् सम्बन्धी विधेयक र त्यसबारे राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता गरिदिएको विषयमा पनि छलफल भएको थियो।
यसका अतिरिक्त सरकारले संसदमा दर्ता गरेको विवादस्पद भूमिसम्बन्धी विधेयकका साथै निजामति विधेयकका सन्दर्भमा समेत छलफल भएको थियो।
संवैधानिक परिषद् सम्बन्धी विधेयकका सन्दर्भमा विस्तृत रुपमा छुट्टै छलफल गर्ने सचेतक घिमिरेले बताए।
निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडमा एमाले सांसदहरुले राखेको संशोधन सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा रहेको एमालेले जानकारी गराएको घिमिरेले बताए।
बैठकमा केहि नेताहरुले कुलिङ पिरियडको प्रावधान हटाउन एमाले सांसदहरुले राखेको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका थिए।
त्यसैगरी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि सहभागी गराएर उनीहरुको कार्यशैलीबारे छलफल भएपनि बाहिर मिडियामा आएजस्तो तत्काल मन्त्रीहरुको हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको घिमिरेले बताए।