नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट पार्टीहरु नाममा कम्युनिष्ट भएतापनि व्यवहारतह सबै पार्टीहरुले डेमिक्रेटिक सोेसलिष्ट पार्टीका रुपमा काम गरिरहेको दाबी गरेका छन्।
पार्टी नेता ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रीक गणतन्त्र र वर्तमान संविधान बिषयक बिचार गोष्ठीमा सम्बोधन गर्दै देउवाले कांग्रेस आफैँमा लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिष्ट) पार्टी भएको भन्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्य निर्माणको सिद्दान्तलाई सबै पार्टीहरुले स्वीकारीसकेको बताए।
‘सबै पार्टीहरु काममा डेमोक्रेटिक सोसलिष्ट भइसकेपछि अब आफ्नो पार्टीभित्र कतिपय कुराहरुमा गाह्रो होला उहाँहरुलाई तर, विस्तारै विस्तारै उहाहरुले आफूलाई कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालीसकेका छन्,’ सभापति देउवाले भने।
सभापति देउवाले डेमोक्रेटिक सोसलिष्ट पार्टी भएर पनि कांग्रेसले अझै आफूलाई ग्रासरुट (तल्लो तह)मा बलियो बनाउन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे।
देउवाले नेपालको संविधान समावेशी, समानुपातिक र लोकतान्त्रिक सिद्धान्तका आधारमा अत्यन्त राम्रो भएपनि यसले अंगिकार गरेको निर्वाचन प्रणालीका माध्यमबाट कुनै पनि पार्टीले सजिलै र एक्लै बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको बताए।
त्यस्तो अवस्थामा एक्लै हाँक्छु भनेर सम्भव नभएकै कारण कुनै न कुनै पार्टीसँग नमिली नहुने बाध्यकारी स्थितिमा पार्टीले लचिलो पनका साथ सम्झौतामुखी राजनीतिक भावना राख्नुपर्ने अवस्था रहेको पनि देउवाले बताए।
उनले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउँदैै नेपालको संविधनमा राष्ट्रिय सभाको सभापति उपराष्ट्रपतिलाई (भूलबस उपसभामुखलाई) राख्नुपर्छ भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रहेको उल्लेख गर्दै यसमा आफ्नो पनि समर्थन रहेको बताए।
यसप्रसंगमा देउवाले भारत लगायतका मुलुकमा पनि उपराष्ट्रपतिलाई नै माथिल्लो सदनको अध्यक्ष बनाउने प्रचलन रहेको बताए।
साथै उनले अहिलेको संविधान सवैका लागि स्वीकार्य भएपनि केहि बिषयमा संशोधनको कुरा उठेकाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले संविधानलाई थप परिस्कृत गर्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए।