
नेपाल वायुसेवा निगमको एयर बस खरिद प्रकरणले मन्त्रिपरिषदको मुख्य सचिव बन्ने तयारीमा रहेका गृहसचिव प्रेमकुमार राइको सपना उडाउने स्थिति उत्पन्न भएको छ।
नेपाल वायुसेवा निगमको दुइवटा एयर बस खरिद प्रक्रियाको अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका अतिविश्वासी पात्रका रुपमा परिचित राईको सपना धुजाधुजा हुने अवस्था आएको हो।
विमान खरिद प्रकरणमा भएको अनियमितता छानविनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा एयर बस खरिद प्रक्रियामा हालका गृहसचिव राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटासँगै पूर्वसचिव शंकर अधिकारी र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बदनीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको दाबी गरिएको छ।
निगमको व्यवस्था अनुसार, पर्यटन मन्त्रालयको सचिव निगमको संचालक समितिको अध्यक्षका रुपमा रहने प्रावधानका आधारमा यी सरकारी उच्चपदस्थ कर्मचारीहरु विवादमा तानिएका हुन्।
साथै उनीहले गरेकोे बदनियतपूर्ण कार्यका निम्ति कानुन बमोेजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न कानुनी कारबाही अघि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोेग अनुसन्धान आयोगलाई निर्देशन दिन लेखा समितिलाई सिफारिस गरेको छ।
उपसमितिले दिएको प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिले शुक्रबार छलफल गरी टुंगो लगाउने बताइएको छ।
यदि उक्त समितिले उपसमितिको प्रतिवेदन अनुमोदन गरी सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठायोे भने प्रधानमन्त्री ओलीका प्रिय पात्रका रुपमा परिचित राईको जागिर त धरापमा पर्ने नै छ त्यो भन्दा ज्यादा प्रधानमन्त्री ओलीको चाहना र योजना बमोजिम हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई विस्थापित गर्दै मन्त्रिपरिषदको मुख्यसचिव बन्ने बनाउने योेजना पनि चकनाचुर हुने छ।
त्यसैगरी पर्यटन सचिव देवकोटासँगै लामोे समयदेखि वायु सेवा निगमको व्यवस्थापन सुधार्ने भन्दा उधार्न उद्दत रहँदै आएका कंसाकारको पनि बहिर्गमन हुने स्थिति पैदा भएको छ।
पूर्वसचिव अधिकारी भने यसअघि नै सेवा निवृत्त भइसकेका छन्।
(सम्पादकीय नोटः वाइडब बडी खरिद प्रकरणमा विवादमा तानिएका तत्कालीन गृहसचिव प्रेमकुमार राईकाबारेमा हिमाल दैनिक डटकमले २०७५ पुस १८ गते प्रकाशित गरेको थियो। प्राविधिक समस्याका कारण उक्त समाचार संग्रहको आर्काइभमा छोपिएपछि पुनः प्रकाशित गरिएको हो।)