हिमाल दैनिक
रौतहट बमकाण्ड र जिल्ला अदालतको फैसलाबारे चिरफारः जाहेरवालाकै जाहेरी र बकपत्र बाझियो!

रौतहट जिल्ला अदालतले ०८१ वैशाख १३ गते तत्कालीन जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यकोे इजलासले गरेको फैसलाको ज्वारभाटाले पछिल्लो समय नेपालको न्यायपालिकादेखि नेपाली आमसञ्चारमाध्यम र सिंगो समाजलाई पनि तरंगित बनाइरहेको छ। 

पहिलो संविधान सभा सदस्य निर्वाचनको अघिल्लो दिन अर्थात, २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित मोहम्मद आफताव आलमले वम विष्फोटन गराई ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालतले गरेको फैसलालाई गत जेठ १४ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले उल्टाइदिएपछि उक्त विषयले नयाँ मोड लिएको हो।

जसको कारण उक्त विवादित घटना र फैसलाको विषय अहिले सर्वोच्च अदालत र न्याय परिषदभित्र समेत हलचल मच्चिएको छ। 

करिब १८ वर्षअघिको विवादस्पद घटनाको विषयमा जिल्ला अदालतले एक वर्षअघि गरेको फैसलालाई दुई महिनाअघि उच्च अदालतले बदर गरिदिएपछि नेपाली आमसञ्चारमाध्यममार्फत जे जस्तो भाष्य निर्माणसहितको सूचना प्रवाह समाजमा भयो त्यसले न्यायालयलाई प्रभावित नपार्ने कुरै भएन। 

तर, वम विष्फोटन र जघन्य अपराधको रुपमा हेरिने कर्तव्य ज्यान सम्बन्धीे गम्भीर आरोपका विषयमा जे जस्ता तथ्य, प्रमाण र मान्यताका आधारमा सुरुको अदालतले प्रतिवादीलाई दोषी करार गर्दै दण्ड, जरिवानाको निर्णय सुनायो त्यसको पूर्णपाठ भने विरलै व्यक्ति वा संस्थाले गहिरिएर अध्ययन र विश्लेषण गरेका होलान्।

यसरी गहिराइमा पुगेर विश्लेषण नगरिनुका पछाडि हाम्रो समाजमा कतिपय पात्रकाबारेमा बनेको पूर्वानुमानसहितको हल्लामा आधारित विश्वास अथवा आफूसँग असम्बन्धित विषय भएको कारणले पनि हुनसक्दछ।

तर, उक्त विवादस्पद मुद्दाको विषयमा ढिलै भएपनि हिमाल दैनिकले अध्ययन, विवेचना र विश्लेषण गर्ने कोशिश गरेको छ। ताकि उक्त घटनाको विषयमा सुरुको अदालतदेखि उच्च अदालतहुँदै अन्तिम अदालतको रुपमा रहेको सर्वोच्च न्यायालयका न्यायमूर्तिहरुलाई यी र यस्तै प्रकृतिका घटनासँग मेलखाने मुद्दाबारे भविश्यमा न्यायिक निरुपणको प्रक्रियामा सहभागी हुँदैगर्दा केही हदसम्मै भएपनि सत्यतथ्यको गहिराइमा पुग्न सहयोग पुगोस् भन्ने नै हा।यहि मान्यतालाई ख्याल गर्दै उक्त विषयमा केही तथ्यगत विषयवस्तु श्रृंखलाबद्ध रुपमा केलाउने कोशिश गर्दैछौँ। 

यसको पहिलो श्रृंखलाका रुपमा रौतहट जिल्ला अदालतले ०८१ वैशाख १३ मा गरेको फैसलाको तथ्यगत जाहेरीदेखि प्रत्यक्षदर्शीका रुपमा देखिएका व्यक्तिहरुको परस्पर विरोधाभासपूर्ण बकपत्रसँगै अदालतको ठहरखण्डमा उल्लेखित बुँदाहरुलाई आधार बनाएको छ। 

पहिलो उजुरीकर्ता शैलेन्द्र साहको जाहेरी भन्दा वयान २ सय मिटरकाे अनतरः

उक्त घटनाकाबारेमा सबैभन्दा सुरुको जाहेरीकर्ताका रुपमा तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्यका लागि उम्मेदवार शैलेन्द्र साहसहित ९ जना विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको संयुक्त निवेदन रहेको छ। 

जसमा उनीहरुले चैत २८ गतेको निर्वाचनलाई प्रभावित पार्न आलमले आफ्नो घरमा जम्मा गरिराखेको ग्रेनाइड तथा हातहतियार बनाउन संकलन गरि राखेको विष्फोटक पदार्थ, बम समेत विष्फोटन हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसि अख्तर मियाँसमेत घाइते भएकोमा उनीहरुलाई नजिकैको इट्टाभट्टामा जलाई लाश नष्ट गरेको आरोप लगाउँदै आलमसहितका दोषी विरुद्ध कानूनी कारबाहीको माग गर्दै चैत ३० गते निवेदन दिन्छन्।

Shailendra sah11754316654.JPG

तर, उक्त घटनाबारे अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयदेखि अदालतमा प्रत्यक्षदर्शीका रुपमा उपस्थित भएर वयान दिने क्रममा भने उक्त विष्फोटन सुरुमा दिएको जाहेरी निवदेनमा उल्लेखित स्थानभन्दा करिब २ सय मिटर पर रहेको शेख इद्रिशको गोठमा भएको मात्र होइन, उक्त विष्फोटन लगत्तै त्यहाँबाट के कसरी मृतक र घाइतेलाई उठाएर चिम्नी भट्टामा हालेर जलाइएको थियो भनि वयान दिएका छन्।

अर्थात, घटना घटेको भनिएको मितिले तीन दिन लगत्तै जसको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयसमक्ष सुरुको जाहेरी दर्ता गर्ने क्रममा आफूलाई प्रत्यक्षदर्शीको हवला दिँदै आलमको घरमा विष्फोटन हुँदा घटना घटेकोे भन्दै उजुरी दिएका थिए, उनै शैलेन्द्र साहसहितका एक दर्जन व्यक्तिहरुले ०७६ असार १२ गते प्रहरी समक्ष वयानका क्रममा शेख इद्रिशको गोठघरमा विष्फोटन भएको किटानी गर्दछन्।

Shailendra sah 21754316708.JPG

अदालतसमक्ष उपस्थित भएर वयान दिने क्रममा साहले चुनावको अघिल्लो साँझ करिब साढे ६ बजे आफू गौरबाट घर जाने क्रममा राजपुर नजिकै पुग्दा बम विष्फोटनको ठूलो आवाजसँगै धुवाँ देखेपछि घटनास्थलमा पुगेको बताएका छन्।
घटनास्थलमा पुग्दा त्यहाँको स्थिति भयावह रहेको र एक, दुई जना मरेको, १५/१६ जना घाइते भएकामध्ये आफूले चिनेका त्रिलोक प्रताप सिंह पिन्टु र ओसि अख्तर घाइते अवस्थामा देखेको मात्र होइन, उनीहरुको हात, खुट्टा, कान क्षतविक्षत अवस्थामा रहेको बताएका छन्।

मोहम्मद आफताव आलमसहित चिनेका पाँच जनामध्येले आफूलाई त्यहाँ भाग नभए मारिदिन्छु भन्दै गालीगलौज, धाक धम्की दिएपछि आफू बाध्य भएर त्यहाँबाट नजिकैको आफन्तको घरमा गई हेर्दा घाइतेहरुलाई ट्रयाक्टरमा लोड गर्दै भट्टामा लगेर जलाएको देखेपछि एक सचेत नागरिकको हैसियतले उनीहरुविरुद्ध कानूनी कारबाहीको माग गर्दै सुरुमै जाहेरी दर्ता गराएको दाबी गरेका छन्।

यसरी सुरुको जाहेरीदेखि अदालतसमक्ष प्रत्यक्षदर्शीका रुपमा बकपत्र गर्दैगर्दा सुरुको जाहेरी पत्रमा उल्लेखित आलमको घर त्यसपछिका दिनमा भएको किटानी वयान र बकपत्रका क्रममा कसरी इद्रिशको गोठमा परिणत हुन पुग्यो भनि कसैले प्रश्न गरेको देखिँदैन। 

यसरी प्रत्यक्षदर्शीका रुपमा मुख्य जाहेरवालाले सुरुको जाहेरीमा उल्लेखित विवरण अदालतसम्म पुग्दैगर्दाको अवधिमा कसरी बाझियो र यसमा बिबन्धनका सिद्धान्त लाग्छ कि लाग्दैन भनि कसैले प्रश्न गदैनन्। सायद, यसैलाई भनिन्छ होला, एफ्टर थट अर्थात सोचिविचारी गरिएको साजिसपूर्ण वयान।    
क्रमशः

प्रकाशित मिति: सोमबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update