
शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर रामेश कोइरालाले गत बुधबार एकाएक सामाजिक सञ्जाल एक्समार्फत आफ्नो शीप, देश र पेशा छाडेको घोषणा गर्दै पदबाट राजीनामा दिएको पत्र सार्वजनिक गरे।
चिकित्सा क्षेत्रमा विशेषगरी मुटु रोग विशेषज्ञको रुपमा अब्बल सर्जनको रुपमा कहलिएका रामेशले पेशासँगै देशै छाडेर विदेश पलायन भएको राजीनामा पत्रले आमसञ्चार माध्यमदेखि बहुसंख्यक नेपाली समाजलाई उद्देलित र आक्रोसित बनायो।
एक हदसम्म गहिरिएर सोच्ने हो भने, राज्यले रामेश जस्ता सिद्धहस्त विशेषज्ञहरुलाई जसरी पनि स्वदेशमै टिकाउन सक्नु पथ्र्यो र उनको पेशागत दक्षता र विज्ञताको भरपूर सदुपयोग मुलुक र जनताको हितमा लगाउन सक्नु पर्दथ्र्यो। यसमा राज्यको कमजोरी भएकै हो।
आफ्नो पेशागत÷व्यवसायिक दक्षताकोे कसीमा उच्चकोटीमा पर्ने रामेशको अर्को परिचय पनि छ। त्यो हो, सामाजिक सञ्जालमार्फत जुनसुकै बेला, जुनसुकै विषय, चाहे राजनीतिक होस् वा प्रशासनिक, कानूनी वा सामाजिक महत्वकाबारेमा होस् वा जोसुकैलाई पनि व्यंग्यवाण र कटाक्षपूर्ण प्रहार गर्न सक्ने अलौकिक प्रतिभाले भरिपूर्ण क्षमता।
यो पनि प्रष्ट छ, रामेशको पेशागत कार्यकौशलताले हजारौँ नेपालीहरुको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुँदा उनीहरुले नयाँ र स्वस्थ दीर्घजीवन जीउन पाइरहेका छन्। तर, त्यो सँगसँगै उनले सामाजिक सञ्जालमार्फत बेलाबखतमा जथाभावी आलोचना र कटाक्षको तीरले अन्य व्यक्तिहरुको मन, मुट छियाछिया पार्दै प्रेसर बढाइदिने कार्य उनको पेशागत दायित्वभित्र पर्दैन होला।
हुनत, म उनका कुनै पनि क्रिया, प्रतिक्रियाबाट चिन्तित वा आनन्दित भएको पात्र होइन। र पनि लाग्दछ, उनका यी क्रिया, प्रतिक्रियाकै कारण कतिपय उनका आलोचकहरुले उनलाई बेलाबखतमा ‘गुगल डाक्टर’को उपनामले आलोचना गर्दैगर्दा एकअर्काप्रति असहिष्णताको पारोले शीखर चुम्दै एकअर्कालाई ब्लक हानिदिने सम्मका गतिविधिहरु चलेको।
तर, यो हप्ताको सुरुमै अमेरिका भ्रमणमा गएका रामेशले बुधबार उतैबाट गरेको राजीनामा पत्रसँगै त्यसमा उल्लेखित भाषासहितको अभिव्यक्तिले नेपालका कतिपय पत्रपत्रिका, अनलाइन मिडियादेखि सामाजिक सञ्जालमा कोकोहोलै मच्चियो। चियाको कपमा तुफान नै आयो।
विशेषगरी आफ्ना कटु आलोचक रविन्द्र मिश्रप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘र म तपाईको खुच्चिङ रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्यूँदै छ। र म सो बेला सायद सर्जन नहुँला। कुनै दिन म रिक्सा चलाएर पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!’
यसरी पेशा, व्यवसाय र देशै छाडेर अमेरिका जानुको अलिखित तर, स्पष्ट कारण एउटै थियो, उनले खोजे अनुसार सरकारले उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा राजनीतिक नियुक्तिको अवसर दिएन। त्यसैले उनी सबै कुरा छाडेर विदेशीन बाध्य भए।
अर्थात, भर्खरै मात्र चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्ति प्रक्रियामा सरकारमा सहभागी दुई दलबिच भागवण्डा हुँदा पनि उनलाई कांग्रेसले स्थान नै दिएन।
अझ, स्पष्टसँग भन्दाखेरि आफ्नै गृहजिल्लाका प्रधानमन्त्री केपी शर्मा ओलीको त कुरै भएन, सत्ता साझेदार दल नेपाली कांग्रेसका युवा महामन्त्री गगनकुमार थापा, स्वास्थ्यमन्त्री प्रदिप पौडेल निकट रहेर बाँकी सबैलाई सामाजिक सञ्जालमार्फत उछितो काड्न माहिर रामेशलाई सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणाले उपकुलपतिमा रोक्न भएभरको शक्ति प्रयोग गरे। चाहे अनुसारको अवसर नपाएपछि उनी पलायन हुन बाध्य भए।
यही बुझाइको भाष्य निर्माण गर्दै कतिपय मिडिया र उनका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत सभापति देउवा र उनको परिवारजनप्रति उछितो काढिरहेका छन्।
हुनसक्छ, यो बुझाइमा केही हदसम्म आंशिक सत्यता पनि होला। तर, पूर्ण सत्य भने होइन। रामेशको अमेरिका पलायनको कारण देउवा र राणाको अवरोध मात्रै पटक्कै होइन।
उनको व्यक्तिगत स्वभाव र चरित्र पनि त्यत्तिकै जिम्मेवार छ।
सर्वप्रथम त उनी मुटु रोग विशेषज्ञ मात्रै होइन, नेपाल सरकारको ऐन, कानून बमोजिम विशिष्ट सेवामा कार्यरत सरकारी कर्मचारी सरहका सम्मानित चिकित्सक पनि हुन्।
जसको नियुक्ति विद्यमान ऐनले व्यवस्था गरेबमोजिम विधिसम्मत तबरले भएको थियो भने अवकाश वा बहिर्गमन पनि अन्यथा अवस्थामाबाहेक विधिसम्मत ढंगले मात्रै होइन, विशेष सम्मानका साथ हुने कुरा शंकै थिएन।
तर, एउटा मुटु रोग विशेषज्ञले मनोरोगबाट ग्रसित हुँदै भावावेशमा बहकिएर विधि, प्रक्रिया सबै कुरालाई लत्याउँदै विदेशबाट सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे। के उनको नियुक्तिको प्रारम्भ पनि सामाजिक सञ्जालमार्फतबाटैै सुरु भएको थियो र अन्त्य पनि सोही मुताबिक गरे? यो अवश्य होइन।
यसका बाबजूद पनि आफू आगामी असोजमा मात्रै नेपाल आउन र प्रक्रिया पूरा गर्न सक्ने उल्लेख गर्दै उक्त राजीनामा असोज ३० गतेदेखि मात्रै लागू हुनेगरी स्वीकृत गरिदिन आग्रह गरे।
यो उनको पेशागत विज्ञता, दक्षताका बाबजूद पेशागत मर्यादा, व्यवसायिक धर्म र नीति अनुकुल विल्कुलै मान्न सकिँदैन। पदबाट राजीनामा गर्न पाउने उनको मौलिक हक हो र पनि उनले सम्बन्धित निकायमा उपस्थित भएर जसरी नियुक्तिका बखत सरकारी पुस्तिकामा हस्ताक्षरसहितको सहीछाप गरेका थिए, सोही अनुसार सेवा मुक्त हुँदा पनि अपनाउनु पर्ने थियो।
त्यसपछिको केही समयका लागि भएपनि पलायनको योजना थाती राखेर सकेजति नेपालीलाई आफ्नो सेवा दिने हिम्मत गर्न सक्नु पर्दथ्यो।
तब मात्रै उनी कुनै दल वा सरकारप्रति जे सुकै भएपनि मुलुक र जनतासँगै विद्यमान कानूनी व्यवस्थाप्रति इमान्दार रहेको पुष्टि हुन सक्दथ्यो।
तर, उनले त्यो बाटो रोजेनन्। पूर्वनिर्धारित योजना बमोजिम अमेरिका पुगेका रामेशले उपकुलपति पदमा नियुक्तिको अवसर पाए फर्किएर अवसरको भरपूर सदुपयोग गर्ने र नपाए उतै बस्ने योजना बनाएर गएको प्रष्ट हुन्छ।
जसरी उनले सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि निवेदन दिएपनि उक्त कोटा एमालेको भागमा परेपछि अर्को अवसरको खोजी गर्दै धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेका थिए। जुन ठाउँमा सुनसरी, मोरङ र कोशी प्रदेश अधिकांश जनप्रतिनिधिहरुले आफ्नै गाउँ, ठाउँमा रहेर सेवा गर्दै आइरहेका विक्रम श्रेष्ठलाई नछुटाउन नेतृत्वलाई दबाब दिइसकेका थिए। र नेतृत्वले उनीहरुको आवाजलाई नजरअन्दाज गर्ने कुचेष्टा पनि गरेन।
तर, रामेश र उनका शुभचिन्तकले यसलाई बेग्लै अर्थ लगाउँदै यसको दोषजति देउवा दम्पत्तिमाथि खन्याउँदै पलायनको बाटो रोज्ने रामेश असल र अवसर पाउने श्रेष्ठ र देउवा दम्पत्ति खराब हुन क्यारे भन्ने भाष्य निर्माण गर्न भ्याए।
हुनत, रामेशको विदेश पलायनको कदम भर्खरैको सरकारी निर्णयको प्रतिक्रिया वा उपज होइन। यो उनको दुई वर्ष पुरानै योजना र लक्ष्यसहितको कदम हो।
आज भन्दा ठिक दुई वर्षअघि अर्थात सन् २०२३ को सेप्टेम्बरमा जतिबेला एउटा घटनामा विरामीका आफन्तजनले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए, त्यो दुव्र्यवहारबाट रुष्ट बनेका रामेशले ट्वीटरमार्फत आफ्नो सम्भावित पलायनको योजना सार्वजनिक गरेका थिए।
जसमा उनले भनेका थिए, ‘यो देशमा चिकित्सक बनेर यतै बस्नु बेवकफी हो। म बेवकुफ भए तर आफन्तलाई पलायन हुन भन्छु। मेरो त रिटायर्ड हुनअघि पिटाई खान नपरेछ भने पनि सोपछि निजीमा समेत डाक्टरी काम नगर्ने विचार छ। र यो तीन–चारवर्ष म पनि कम अपरेशन गरेर कम जोखिममा बस्न चाहन्छु। मसँग अपरेशन गराउन नआउनुस्! प्लिज!’
अर्थात, उनको नेपाल बसाईमा गौरवको भावसँगै नेपाली जनताको सेवाका लागि थियो वा थिएन, त्यो उनै जानून्। तर, उनको यो अभिव्यक्तिले ओकलेको सत्य कुरा केही छ भने, उनीभित्र रहेको अवसरवादी चरित्र नै थियो। हिन भावले स्वदेशमा बसेर पाएसम्मको अवसर लिने, नपाए आफूलाई मन नपरेकाहरुप्रति विषवमन गर्दै विदेशीने।
उनको महिमामण्डन गर्ने व्यक्ति र मिडियाले भन्नका लागि विगत २५ वर्षको सेवाअवधिमा रामेशले यसअघि ०७३ सालकै सरकारको पालामा पनि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको अवसर खोजेकोे र त्यतिबेला पनि देउवा पत्नीले नै रोकेको दाबी गर्दै आलोचना गरिरहेका छन्।
तर, यो पंक्तिकारलाई जानकारीमा आएअनुसार, त्यो सत्य होइन। त्यतिबेला उनको सेवा अवधि करिब १४ वर्षको मात्रै थियो, जुन उपकुलपति पदको आकांक्षाका लागि ग्राह्य थिएन सायद।
त्यतिबेला उनी भन्दा वरिष्ठहरुलाई पन्छाएर उनले अवसर पाउने स्थिति पनि थिएन र पाएनन् पनि। भलै त्यसको जस कसले लियो अथवा अपजसको भारी कसलाई बाकोइयोे, त्यो बोक्ने, बोकाउनेहरु नै जानून्।
जानकारीमा आएअनुसार, रामेशले पहिलो पटक उपकुलपतिको आकांक्षा गरेको ०७८ सालको पुनस्र्थापित संसदबाट बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामै हो। त्यतिबेला रिक्त रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको अवसर खोज्दै दौडधूप पनि गरेकै थिए।
तर, उनी आफैले खनेको सामाजिक सञ्जालरुपी खाल्डोमा पर्न पुगे। अर्थात आफ्नो सामाजिक संजालमार्फत प्रधानमन्त्री देउवाविरुद्ध व्यक्त गरेका कन्टेन्टहरुको चाङमुनी उनको निवेदन पुरियो र उनले अवसर नपाएको साँचो हो। राज्यका जिम्मेवार निकायमा बस्ने पदाधिकारीहरु कसैको क्षमताबारे अरुले गरेको प्रसंशाकै भरमा विश्वस्त हुदैनन्। अझ भनौ, आफ्नो प्रतिकूल काम र व्यवहार गर्ने व्यक्तिलाई कुनै हालतमा पनि स्वीकार गर्दैनन्।
रामेश जो गंगालालको एक विभागीय प्रमुखका रुपमा कार्यरत रहँदै गर्दा आफू मातहत कुनै चिकित्सकले इन्टर्न गर्न अथवा सेवा गर्न चाहेमा उनले आफ्ना सर्वाधिक आलोचकलाई पनि स्थान दिन सक्लान् कि आफू अनुकूलकै व्यक्ति खोज्लान्? यसबाट पनि उनको परिक्षा लिन सकिन्छ।
त्यसपछिका दिनमा पनि उनले बेलाबखतमा देउवा र निजको परिवारसँगै पार्टीका अन्य पदाधिकारीविरुद्ध उनीहरुले नै हेर्नै वा सुन्न नसक्ने खालका अभिव्यक्तिहरु सार्वजनिक नगरेका होइनन्। तर, त्यसको गतिमा केही ब्रेक भने पक्कै लगाएका थिए।
यसका अतिरिक्त उनले राजनीतिक नियुक्तिको सवालमा दलीय भागवण्डाको विरोध मात्रै गर्दैनथे। बेला बखतमा अरुलाई नैतिक चरित्रको पाठ पनि पढाउँथे। नपत्याए, हेरौँ, उनको यो ट्वीटः
यसका अलवा यी वरिष्ठ चिकित्सक जसले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि दाबी पेश गरेका थिए, उनैले आफ्नो पदीय हैसियत बिर्सिएर ०८० माघमा फेरि गंगालाल हृदय रोग केन्द्रको निर्देशक बन्न पनि उछालकुद लगाए। कहाँको उपकुलपति कहाँको निर्देशक! तर, हातमा लाग्यो शून्य।
यसअतिरिक्त, रामेश स्वयंलाई थाहा छ कि यो दलतन्त्र र नेतातन्त्र हावी भएको व्यवस्था हो। जहाँ दल वा नेताविशेषको रुचिले पनि राजनीतिक नियुक्तिमा प्रभाव पार्दछ।
कांग्रेस सभापति देउवा मात्रै होइन, जुन पार्टीको नेता अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिल्यै सम्मानभावले आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गर्न सकेनन् उनैले त्यहि तुच्छ मानिएका कार्यकारीको हस्ताक्षरमा नियुक्ति पत्र र पद तथा गोपनीयताको सपथ लिन पाइन भनेर विदेश पलायन हुनु रामेशको कुन नैतिकताको परिधिभित्र पर्दछ?
उनमा अलिकति मात्रै नैतिकता र आत्मस्वाभिमानको अंश थियो भने, आफूले कहिल्यै भर विश्वास र आशा नगरेको वा नराखेको व्यक्ति र उसको नेतृत्वको सरकारसँग लाभको आशा पनि गर्नु हुँदैनथ्यो।
भनिन्छ नि, पिता, नेता र देवतासँग रिसाएर हुँदैन। अझ यी तीनमध्ये आफ्नै पितासँग रिसाएर जेजस्तो व्यवहार गरेपनि अन्त्यमा उनैको वंश र अंशमा लाग्ने हक कसैले कटाएर कटाउन सक्दैन।
तर, आफूले कहिल्यै आस्था, भरोसा र विश्वास नगरेको नेता होस् कि देवता, उसँग आशा गरे अनुरुप अवसर वा वरदान पाइन भनेर दुःखी हुँदै जन्मभूमिबाट पलायन हुनु उसको मुर्खतापूर्ण कदम सिवाय अरु केही होइन। बाँकी उनै जानून।