हिमाल दैनिक
लौहपुरुष गणेशमानको २८औं स्मृति दिवस अगावै यसरी खण्डहर बन्यो चाक्सीबारी!

निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्दै देशमा प्रजातन्त्रको पुनःस्थापनाका लागि विसं २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ लौहपुरुष गणेशमान सिंहको आज २८औँ स्मृति दिवस।

गणेशमानको स्मृति दिवसका अवसरमा बिहीबार उनका छोरा एवं कांग्रेस नेता प्रकाशमान सिंह लगाएत कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता र शुभचिन्तकले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरि उनीप्रति सम्मान प्रकट गरेका थिए।  

तर, बिडम्बना नै भनौ, जुन सर्वोच्च कमाण्डरले ३० वर्षे निरंकुश शासन व्यवस्थाविरुद्ध शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै देश र जनतालाई रैतीबाट स्वतन्त्र नागरिक बनाउने नविनतम् कार्यको सुरुवात गरेका थिए उनै सिंहको ऐतिहासिक धरोहर निजी निवास चाक्सीबारी अहिले खण्डहरमा परिणत भएको छ। 

सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममाथिको सरकारी प्रतिबन्धको विरोधमा १२ देखि २८ वर्षको उमेर समूहका नवयुवाहरुको आह्वानमा भदौ २३ गते सुरु भएको प्रदर्शनमा भड्किएको हिंसाको ज्वालामुखी विष्फोटन सरहको विद्रोहले भदौ २४ गते चाक्सीबारी निवास मात्रै जलेर खरानी भएन। 

मुलुकमा प्रजातन्त्रको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालादेखि देशको प्रधानमन्त्री बन्नुअघि र पछिसम्म पनि मुलुक र जनताको हकहित बाहेक आफ्नो निजी श्रीसम्पत्ति केबल सुराई, ट्यांका र छाताबाहेक केही नभएका सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम समेत जलेर खरानी भयो। 

यसरी नियोजित रुपमा उनीहरुका निवास जलाउन पुग्ने अराजक भिडमा बहकिएर कति नवयुवाहरुलाई के थाहा, बीपी कोइराला, गणेशमान, भट्टराई अथवा सुवर्ण शम्शेरको इतिहास र उनीहरुले मुलुक र जनताप्रति गरेको योगदान?

उनीहरुलाई के थाहा, विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहले तत्कालीन जहानिया राणाशासनविरुद्ध लड्दै मुलुकबाट ००७ सालमा राणाशासन फाल्ने संघर्षको नेतृत्वकर्ताको अग्रपंक्तिमा उभिएदेखि १७ सालमा तत्कालीन राजा महेन्द्रको प्रजातन्त्र मास्ने कार्यको विरोधमा अनवरत संघर्ष गरेको संघर्ष र बलिदानको कथा?

यसका बाबजूद पनि यी त्यागी महापुरुषहरुका ऐतिहासिक धरोहरहरु जलेर खरानी हुँदैगर्दा र त्यसलाई पखालेर टुकुचामा बगाउँदै गर्दा पनि नवयुवाहरुले उनीहरुकाबारेमा केही जानकारी भने राख्नै पर्छ।

कि २०३६ सालको जनमत संग्रहमा अपेक्षाकृत परिणाम नआएपछिका दिनमा पनि मुलुक र जनताको नैसर्गिक हकका रुपमा देशमा प्रजातान्त्रिक शासन व्यवस्थाको पुनर्बहालीका लागि ४६ सालमा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको नेतृत्वमा अन्य कम्युनिष्ट घटकहरुलाई वाममोर्चाको माध्यमबाट सहभागी गराएर ०४६ चैत २६ गते मुलुकमा बहुदलीय संसदीय प्रजातन्त्रको स्थापना गराएका थिए। 

Chaksibari11758185266.JPG

पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःस्थापना लगत्तै उनले चाहेको भए सिंह नेपालको इतिहासमा प्रधानमन्त्रीको सूचिमा नाम स्थापित गराउन सक्दथे। 

राजदरबारमा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहले उनलाई सम्बोधन गर्ने क्रममा ‘तिमी’ भन्दै गर्दा उल्टै राजालाई थर्काएर तपाई भन्न बाध्य मात्रै पारेका थिएनन्। आन्दोलन पश्चात गठित अन्तरिम सरकारको प्रधानमन्त्री बनेर मुलुमा प्रजातान्त्रिक संविधान निर्माणको नेतृत्व लिन गरेको आग्रहलाई उनले ठाडै अस्विकार गर्दै आफ्ना सहपार्टी सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए।

उनै भट्टराई, जसले सरकारको नेतृत्व गरेको ६ महिनामै मुलुकमा ०४७ सालको प्रजातान्त्रिक संविधान मात्रै दिएनन्, निर्वाचनमा आफू पराजित भएर पनि मुलुकमा संसदीय प्रजातन्त्रको जग बसालेका थिए।  

उता, कांग्रेसको नेता भएर पनि मुलुककै सर्वमान्य सर्वोच्च नेताको सम्मान पाएका गणेशमानले आफैले बनाएको पार्टीभित्र प्रजातान्त्रिक चरित्र र स्वभावविपरितका गतिविधि हुँदैगएपछि ०५१ साल भदौमा पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका थिए। 

Ganeshman Singh1758185303.JPG

जीवनमा अनेक उतारचढाव र आरोहअवरोध झेल्दै नेता गणेशमान सिंह २०५४ साल असोज २ परलोक भए।

उनी मरेर गएको २८ वर्ष भइसक्दा पनि कतिपय उनका अनुयायीहरुले राजनीतिमा त्याग, बलिदान, समर्पण र निष्ठाभावको सम्मान र स्मरण गर्दै सम्झिन पुग्ने ऐतिहासिक स्थल चाक्सीबारी भदौ २४ गते जलेर खरानी भयो। 

यसरी उनको निवास जलेर खरानी भएको स्थल निरिक्षणका लागि पुगेका उनका पुत्र प्रकाशमानले जेनजी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने उद्देशयले चाक्सीबारीको ऐतिहासिक निवास जलाएको आरोप लगाए।

बिहीबार जेनजी आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएको काठमाडौंको चाक्सीबारीस्थिति आफ्नै घरको निरिक्षण गर्दै नेता सिंहले इतिहासमा सम्मान गरिने गणेशमानको घर, विपी कोइरालको निवास, कृष्णप्रसाद भट्टराई आश्रम लगाएतका ऐतिहासिक धरोहरमा आगजनी गर्नेहरु जेनजी आन्दोलनकारी नभइ आन्दोलनका नाममा घुसपैठ गर्नेहरु भएको दाबी पनि गरे।

साथै उनले उक्त घटनाको विधि अनुसार छानविन हुनुपर्ने माग गर्दै देशव्यापी रुपमा नियोजित ढंगले भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको गुनासो गरे।

राजनीतिक निष्ठा, त्याग, संघर्ष र बलिदानको अर्को नाम गणेशमान सिंहलाई हाम्रो पनि श्रद्धासुमन!  

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update