नेपाली कांग्रेसले नवयुवा (जेनजी) आन्दोलनका क्रममा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्न माग गरेको छ।
गत भदौ २३ गतेको युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक सुरक्षा कारबाही पश्चात आक्रोसित भिडको नाममा गरिएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पतीमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गदै घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानविन आयोगको माग गरेको हो।
संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगाएत सरोकारवाला निकायसंग छलफल गरि शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
त्यस्तै जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताए।
बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजि निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भत्र्सना गर्ने निर्णय गरेको उनले बताए।
विश्वकर्माले अहिले पार्टी सभापति शेरबहादुर देउवाको उपचार जारी रहेको जानकारी दिँदै सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको बताए।
विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको बताए।
त्यस्तै उनले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको दाबी गरे।
उता पछिल्लो राजनीतिक तथा सामाजिक परिवर्तनको राप र तापमा नेतृत्व लिन हतार देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान नेतृत्वले नयाँ समय र परिस्थितिसँगै नवयुवाहरुको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने भन्दै तत्काल नेतृत्व बदलेर चुनावी तयारीमा जानु पर्ने अभिव्यक्ति दिँदैआएका छन्।