नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीहरुले सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका पार्टी सभापतिको उपचार समयसम्म पनि पर्खिन नसकेको भन्दै आलोचना गरेका छन्।
गत भदौ २३ गते नवयुवा (जेनजी)को नाममा भएको शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्किँदा त्यसको प्रतिक्रियास्वरुप दोस्रो दिन आक्रोसित भिडले आगजनी गरिदिएको आफ्नै निवास महाराजगञ्जमा आइतबार बिहान पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता महतले नेतृत्व परिवर्तनसहितको रुपान्तरणको बहसप्रति आपत्ति प्रकट गरेका हुन्।
भदौ २४ गतेको भयावहस्थिति पश्चात राज्यका सबै निकायहरु विघटनको अवस्थामा पुगेपछि युवाहरुको चाहना र भावनाको प्रतिनिधित्व गर्न सक्ने पार्टी निर्माणका लागि पार्टी नेतृत्व बदल्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले चलाएको बहसको प्रतिवाद समेत उनले गरे।
प्रवक्ता महतले अहिलेको विशेष अवस्थामा पार्टी नेतृत्वका बिषयमा प्रश्न उठाउनु भन्दा पनि आन्तरिक एकता बलियो बनाउने बेला भएको भन्दै पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित नभएको दाबी गरे।
महतले एमालेसंगको गठबन्धनका बारेमा पहिलेदेखि नै पार्टीभित्र बिभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा अहिले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको जिकिर समेत गरे।
साथै उनले पछिल्लो अन्यौलग्रस्त राजनीतिक तथा सामाजिक परिस्थितिमा मुलुकलाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर अघि बढाउनु पर्ने बताए।
पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले युवापुस्ताको आकांक्षालाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमिकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताए।
युवाको आन्दोलनका नाममा अपराधीक घटना घटाउने प्रवृति विस्तारै खुल्दै जाने उनको दाबी छ।
उनले संवैधानिक व्यवस्थालाई पूर्णरुपमा टेकेर सरकार बन्न नसकेपनि संवैधानिक बाटोबाट अघि बढ्न सक्नुपर्ने धारणा राखे।
साथै उनले तोकिएको समयमा नै निर्वाचन गरेर जननिर्वाचित सरकार गठन हुनुपर्नेमा जोड दिए।