हिमाल दैनिक
भदौ २४ गते वीरगञ्जस्थित रुंगटा निवासमा आगलागीमा परि घाइते भएकी एक महिलाको निधन

नवयुवा (जेनजी) सडक प्रदर्शनबाट भड्किएको आन्दोलनका क्रममा अराजक भिडले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिलकुमार रुंगटाको वीरगञ्जस्थित घरमा आगो लगाइदिँदा जलेर घाइते भएकी एक महिलाको निधन भएको छ। 

जेनजी आन्दोलनमा भएको दमनविरुद्ध सडकमा उत्रिएको भिडमा सहभागी अराजक व्यक्तिहरुले व्यक्तिगत प्रतिशोध साध्ने क्रममा कांग्रेसका नेता एवं उद्योग व्यवसायी रुंगटाको घरसँगै उनका दाजु र भाइको तीनवटा घरमा तोडफोड, लुटपाट र आगजनी गरिदिएका थिए।

उक्त आगजनीमा परेर गम्भीर घाइते भएकी पर्सा सखुवाप्रसौनी गाउँपालिका २ निवासी ४५ वर्षिय महिला कामदार शोशिलादेवी हजराको मंगलबार उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको रुंगटा परिवारका एक सदस्यले बताए।

उक्त दुई दिनको आन्दोलनका क्रममा मर्नेहरुको संख्या योसँगै ७५ पुगेका छ।

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत हजरासँगै घाइते भएका अर्का युवकको भने अस्पतालमा उपचार भइरहेको छ। 

भदौ २३ गते विभिन्न माग राख्दै सडक प्रदर्शनमा उत्रिएका जेनजीहरुको भिडमा अचानक सुरक्षा कारबाही हुँदा १९ जना प्रदर्शनकारी युवाहरुको निधन भएलगत्तै भदौ २४ गते देशभरी नै हिंसात्मक प्रदर्शन भएको थियो। 

जसको कारण प्रिितनिधि सभाको विघटनदेखि संसदबाट निर्वाचित सरकारलाई अपदस्त गर्दै जेनजीको प्रस्तावमा नयाँ सरकारको गठन भएको थियो।  

यसरी घड्किएको आनदोलनका कारण काठमाडौंस्थित अधिकांश पार्टी नेताहरुको घरमा आगजनी, तोडफोड र लुटपाटका अतिरिक्त राज्यका प्रमुख प्रशासनिक तथा न्यायिक निकायका मुकामहरु पनि आगोले खरानी बनाइएको थियो।

यसका अतिरिक्त जिल्ला जिल्लामा भएका प्रदर्शन, आगजनी, तोडफोड र लुटपाटमा वीरगञ्जस्थित रुङ्गटाको घरमा तोडफोड, लुटपाट र आगजनी हुँदा घरमा लागेको आगोमा परेर घाइते भएको दुबै विरामीलाई वीरगञ्जस्थित अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरि पठाइदिएको थियो। 

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update